अगस्त्यमा प्रमोदको भूमिका बाहुबलीजस्तै

अगस्त्यमा प्रमोदको भूमिका बाहुबलीजस्तै

काठमाडौं ।

कुशल अभिनेता प्रमोद अग्रहरीले भोलि शुक्रबारदेखि नेपालसँगै नेपालीको बसोबास रहेका विश्वका विभिन्न मुलुकबाट रिलिज हुने फिल्म अगस्त्य : च्याप्टर १ मा आफूले निर्वाह गरेको पात्र बाहुबलीजस्तै भएको खुलाएका छन्।

प्रमोदले यो फिल्ममा त्रिपाठी चरित्रमा अभिनय गरेका छन्। अग्रहरीका अनुसार यो पात्र बाहुबलीजस्तै छ। सबै कुरा उसकै अधिनमा छ। उसको आफ्नै सञ्जाल छ र उसको इसाराबिना समाजको केही कुरा पनि वरपर चल्दैन।

‘मैले गरेका कतिपय क्यारेक्टर मेरा लागि दमदार नै लाग्छन्। फरकचाहिँ त्यो क्यारेक्टर कसरी बाँचिरहेको छ भन्ने हो। किनकी हरेक फिल्ममा मेरो चरित्र फरक परिवेश र फरक शैलीको छ,’ प्रमोद सुनाए, ‘म परासीको हुँ। फिल्मको ट्रेलरले मधेसकै कथा देखाएको छ। तर, अगस्त्य च्याप्टर १ को जस्तै कथा परासीमा देखेको छैन। यस्तो कथा मैले अन्य ठाउँमा देखेको छु, भारतमा पनि देखेको छु। मैले त्यो देखेको क्यारेक्टरलाई मात्र फिल्ममा उतारेको हुँ। पहिरन, लुक्स उनीहरूबाटै लिएको हो।’

प्रमोदले त्रिपाठी पात्रका लागि राम्रै तयारी गरेका रहेछन्। ‘क्यारेक्टर भनेको एउटा बच्चा जन्माउनुजस्तै हो। मुख्य कुरा विचार हो, शारीरिक रूपमा देखिनुभन्दा पनि चरित्रिक विचारको तयारी ठूलो कुरा हो। सबैभन्दा पावरफुल त आन्तरिक रूपमा के चलिरहेको छ भन्ने हो। जुन एउटा क्यारेक्टरका लागि महत्वपूर्ण हुन्छ। आँखाले देखेका कुरालाई कसरी प्रस्तुत गर्ने भन्ने अर्को तयारी नै हो। म पुषदेखि नै त्यो क्यारेक्टरमा थिएँ। संवाददेखि सबै कुराको तयारी गरिएको थियो,’ प्रमोद भन्छन्, ‘मेरो चरित्र मेरै लागि चुनौतीपूर्ण हुन्छ। त्यसो हुँदा मैले अरूको चरित्रसँग किन चुनौती मान्ने? फिल्मको वर्कसप भएको थिएन, दुई चारपटक स्क्रिप्ट पढें। बीचमा बुवा बितेपछि घर आउनुपर्‍यो। उहाँको काम सकेर पछि फिल्म युनिटसँग जोडिएँ। फिल्मको स्क्रिप्ट पढिरहँदा आफ्नो क्यारेक्टरबाट के आउनेवाला छ भन्ने मलाई थाहा थियो, त्यहीअनुसार तयारी गरें।’

प्रमोदको अनुभवमा फिल्मको भिलेन समाजका लागि भिलेन देखिए पनि ऊ आफ्ना लागि भने हिरो नै हो। ‘उसले गरेको क्रियाकलापले कसैलाई असर पर्दा ऊ भिलेन हुन्छ। तर, मैले गरिरहेको कुरा त आफ्ना लागि राम्रै हुन्छ नि। मेरो क्यारेक्टर समाजका लागि पोजेटिभ छ या नेगेटिभ छ भन्ने दर्शकको हेराइमा भर पर्छ। अगस्त्य च्याप्टर १ हेरेर निस्कि“दा दर्शकले यो कुरा पक्कै सम्झनुहुन्छ’, उनी भन्छन्।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा प्रमोदसँगै सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेलद्वारा निर्मित फिल्ममा निर्देशक चौधरी स्वयंको लेखन, एसडी योगीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, सञ्जय लामाको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ भने विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेका छन्।

फिल्मको एड्भान्स बुकिङ खुल्ला गरिएको छ। फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यकाबाहिर २९ शो दिएको छ।

यस्तै काठमाडौंको वान सिनेमाजले दुई चेन गरेर ८ शो, बिग मुभिजले ३ शो, एफक्युबले ३ शो, बिएसआरले ४ शो, आइएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ। उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शो दिएका छन्। देशभरका एक सय ११ फिल्म हलले दुई सय ५९ शो उपलब्ध गराएका छन्।

त्यस्तैै अमेरिका र बेलायतमा आठ सयदेखि एक हजार शो, क्यानडामा एक सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा एक सय ५० शो, अस्ट्रेलिया र न्युजिल्याण्डमा ५ सय शो र मध्यपूर्वका देशमा सात सय ५० शोमा रिलिज हुनेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *