अठार वर्षदेखि निरन्तर सङ्गीत यात्रामा प्रेम विवश

अठार वर्षदेखि निरन्तर सङ्गीत यात्रामा प्रेम विवश

काठमाडौँ। 

स्वभाव नम्र छ, अग्लो अग्लो शरीर अनि जीउ ज्यान खाइलाग्दो छ । सबैसँग मिल्न सक्ने बानी, मिठो बोलीचाली । लोक दोहोरी गायक प्रेम विवश घर्ती जति मिठो बोल्छन्, त्यो भन्दा बढी मिठो गीत गाउँछन् । मौलिकता झल्कने, राष्ट्रिय भावले ओतप्रोत भएका गीत गाएका घर्ती वि.सं. २०६२ देखि निरन्तर सङ्गीत यात्रामा छन् ।

लोकप्रिय गीत  ल्याएर आम श्रोता/दर्शकको मनमनमा बस्न सफल उनी पहिलेका दिनहरुमा धेरै मेहनत र सङ्घर्ष गरे ।  गायक बन्ने रहरले, निकै कठिनाईका साथ गाउँमा दुई हजार रुपैयाँ  ऋण खोजेर २०६२ मा पहिलो पटक काठमाडौँ प्रवेश गरेका थिए । त्यतिखेरको सङ्घर्ष सम्झँदै घर्ती भन्छन्, ‘दाङबाट रात्रि बसको गल्लीमा राखिएको मुढामा बसेर काठमाडौँ छिरेँ । गीत गाउने, एल्बम निकाल्ने र सबैसामु परिचित हुने ठूलो धोको थियो । चुनौतीसँग सङ्घर्ष र निररन्तरताले नै जीवनको लक्ष्य हासिल गर्न सकिँदो रहेछ भन्ने मेरो बुझाई रहेको छ ।’

काठमाडौँ प्रवेश गर्दैगर्दा गायक घर्तीलाई स्थापित कलाकार बन्छु र यति धेरै दर्शक श्रोताको माया पाउँछु भन्ने हेक्का थिएन । गायन क्षेत्रमा प्रवेश गर्दा सुरुमा म्युजिक कम्पनीले आफ्नो गीत बजार व्यवस्थापन गर्न नमानेको तितो अनुभव उनीसँग छ । तर कत्ति पनि विचलित नभएर निरन्तर रुपमा सङ्गीत क्षेत्रमा अघि बढेका घर्ती पछिल्लो समय देशका विभिन्न मेला महोत्सवमा व्यस्त हुने गरेका छन् भने  विदेशमा आयोजित विभिन्न कार्यक्रममा पनि सहभागी भइसकेका छन् ।

‘ओमान र भारतको गोवामा पनि कन्सर्टहरुमा गएर प्रस्तुति दिइसकेको छु’, उनले भने, ‘यो क्षेत्र र सबैको हौसला तथा मायाले आजको दिन सम्म सन्तुष्ट छु ।’
२०४३ सालमा शान्तिनगर –३ बस्तीखोला दाङमा बुवा दल बहादुर घर्तीमगर र आमा कौशिला घर्तीमगरको कोखबाट जन्मिएका गायक घर्तीले २०६२ सालमा रेडियो नेपाल सिंहदरबार काठमाडौँबाट लोक गीत विधामा स्वर परीक्षा उत्तीर्ण गरेका हुन् ।

२०६३ सालमा याद एल्बम ल्याएका उनी श्रोताको मायाले थप हौसला प्राप्त गरी २०६४ सालमा रेडियो नेपालको स्टुडियोमा मनमा आधि चलायो एकल लोक गीत रेकर्ड गरी सार्वजनिक गरे ।  चर्चित गायिका विष्णु माझीसँग २०६८ सालमा “भयो माया भयो” बोलको गीत  गाएका घर्तीले यस गीतबाट साँगीतिक क्षेत्रमा सुरुवाती चर्चा कमाए । २०७१ सालमा तिज गीत एल्बम “झकास” र “छमछमी नाच” दर्शक श्रोतामाझ पस्किए । आफ्नै सङ्गीत र स्वर रहेको यो  गीतले अझै बढी चर्चामा ल्याएको र स्टेज कार्यक्रम, मेला महोत्सवमा पनि बढी निमन्त्रणा आउने क्रम बढेको उनको अनुभव छ । त्यसपछि गायक घर्तीले निरन्तर रुपमा हरेक वर्ष तिज गीत दर्शक श्रोता माझ पस्किने गरेका छन् ।

उनले २०७२ सालमा “फुर्काएको हो की बाई” र “आँसु पिएर” लोकदोहोरी गीत तथा “झकास –२” तिज गीत एल्बम साङ्गीतिक बजारमा ल्याए भने २०७३ सालमा सार्वजनिक “छोटो छाटो चोली” तिज गीत धेरैले मन पराएका थिए । २०७४ सालमा “हाम्रो नेपाल राम्रो नेपाल” बोलको राष्ट्रिय भावको गीत र लोक दोहोरी गीत “तिम्रो ओठैमा” ल्याएका गायक घर्तीले २०७५ सालमा “विन्दास मान्छे” लोकदोहोरी गीत, २०७६ सालमा तिज गीत “खुट्टी हल्लाइदेऊ”, २०७८ मा तिज गीत “सरर फरर”, २०७९ मा तिज गीत “नास सारी सरक्क” दर्शक श्रोताका लागि कोसेली पस्किए । “मायाको वासना” र “नाच्ने गरायो” पनि घर्तीका आफ्नै तिज गीत हुन् ।

लोक सङ्गीत निकै पुरानो विधा भएको जनाउँदै उनले पछिल्लो समय लोक गीतलाई आधुनिकीकरण गर्ने प्रयासहरू भइरहे तापनि यसको मौलिक पक्षलाई मार्न खोजियो भने त्यसले सार्थकता नपाउने धारणा राख्छन् ।  लोक दोहोरी गायक घर्तीले सङ्गीत यात्राको निरन्तरताका दौरानमा विभिन्न अवार्ड पनि हात पारेका छन् । चौथो राष्ट्रिय सुन्दरादेवी सन्देश म्युजिक अवार्ड प्राप्त गरेका उनी २०७५ मा हाम्रो नेपालमा राम्रो नेपालमा राष्ट्रिय भावको गीतबाट अवार्ड विजेता बने ।

 दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०७८ मा विविध भाषिक सङ्गीत सम्मान पाएका घर्तीले नास सारी सरक्क तिज गीतबाट दोस्रो विशाल लुम्बिनी लोकदोहोरी म्युजिक अवार्ड सर्वोत्कृष्ट पर्व गीत गायक २०७९ हात पार्न सफल भए ।

अवार्ड कार्यक्रममा समेत साङ्गीतिक प्रस्तुति राखेर धेरैको मन जित्न सफल भएका छन् । विदेशी संस्कार सस्कृतीको बढ्दो प्रभावका कारण नेपाली गीत सङ्गीत संकटमा पर्ने हो की भन्ने चिन्ताले गायक घर्तीलाई बेला बेला सताउने गर्छ । नेपाली युवाहरूमा लोक गीतको मोह बढाउन र लोक गीतलाई बौद्धिक क्षेत्रबाटै खोज, अध्ययन, व्याख्या तथा विश्लेषण, प्रचारप्रसार र त्यसको महत्त्व र आवश्यकतामाथि चेतना फैलाई संरक्षण र सम्बद्र्धनका प्रयास गर्नुपर्ने उनको भनाई छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *