
काठमाडौं । सामाखुशी खोलापछि काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न शुरु गरेको छ ।
दुई पालिकाका प्रतिनिधिबीचको लिखित सहमतिपछि महानगरले खोला खोल्न डोजर चलाएको हो । बिहीबार बिहान डोजर लिएर पुगेको महानगर, स्थानीयको अवरोधले पछि हट्न बाध्य भएको थियो । तर, बुढानिलकण्ठ नगरपालिकाका स्थानीयले महानगरको शैलीलाई दादागिरीको संज्ञा दिइरहँदा जनप्रतिनिधिबीचको सहमतिपछि भने महानगरले काममा फर्किएको छ ।
स्थानीयको अवरोधकाबीच काठमाडौं महानगरपालिकाले कपनमा यज्ञमती र चखुँचा खोलामा डोजर चलाएको छ ।
पालिकाका स्थानीयवासीले सो क्षेत्रमा बस्ती विकास भइसकेकाले महानगरको ‘इमिडिएट एक्सन’को शैली उपयुक्त नहुने बताएका थिए ।
खोला आसपासका स्थानीयले महानगरले डोजर लिएर पुगेपछि आक्रोश पोखेका छन् ।
स्थानीयको विरोध जारी रहेपनि काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष विमल होडा, ६ का वडा अध्यक्ष भुवन लामा र बुढानिलकण्ठ नगरपालिका १० का वडा अध्यक्ष नवराज भट्टराई, १२ का शम्भु प्रसाद भट्टराइबीच तीन बुँदे सहमति भएको छ ।
सहमति अनुसार बुनपा १० को सात तलेसम्मको र कामनपा ७ को सीमा भागमा नापजाँच पश्चात वाल लगाई सकिएकाले उक्त भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ह्युम पाईप निकाल्ने सहमति भएको छ ।
त्यसैगरि साततल्ले चोकदेखि माथि बुनपा १०, १२ र कामनपा ६ मा दुबै तर्फका जग्गाधनीको नक्सा पुर्जा अनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे कायम गरेर सीमा र खहरेको भाग रेखांकन गर्नेे सहमति भएको छ ।
नापजाँचबाट सीमा एकिन गरि खहरे भाग समेत छुट्याएपछि, दीर्घकालीन समस्या समाधान हुने गरी योजना बनाई खहरे तथा बाटो ब्यबस्थापन गर्ने सम्बन्धमा सहमति जुटेपछि महानगरले डोजर चलाएको हो ।