अन्तरघात गर्नेलाई पार्टीमा राख्‍न हुँदैन : अध्यक्ष यादव


फाल्गुन ३, २०७९ कपिलवस्तु — जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र आपसी एकता र समझदारी आवश्यक भएको बताएका छन् । यादवले पार्टीलाई कमजोर बनाउने, अन्तरघात गर्ने र पार्टीका उम्मेदवारलाई हराउन लाग्नेहरूलाई पार्टीमा राख्न नहुने तर्क गरे ।
संगठनबिना शक्ति निर्माण हुन नसक्ने भन्दै अध्यक्ष यादवले गत स्थानीय निर्वाचनमा कांग्रेससँग ‘एलायन्स’ गर्दा पार्टीलाई फाइदा नभएको निष्कर्षमा आफूहरू पुगेको बताए । यस्तै कांग्रेस र एमालेले विकास, निर्वाचन र सरकारमा जाने कुरा मात्रै गरेको तर उत्पीडित जनताका कुरा नगरेको उनले बताए ।
तर जसपाको काँधमा उत्पीडित जनतालाई अधिकार दिलाउने, भेदभाव हटाउने र समृद्ध मुलुक बनाउने जिम्मेवारी रहेको अध्यक्ष यादवको भनाइ थियो ।
यसैबीच, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आफूहरूले नेकपा एमालेसँग गठबन्धन नभइ केही सिटमा तालमेल मात्रै गरेको उनले बताएका छन् । पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा ९ र प्रदेशसभा सदस्यमा २१ सिट दिने भनिएपछि गठबन्धनबाट जसपा बाहिरिएको उनको भनाइ थियो ।
जसपा नेपाल जिल्ला समन्वय समिति, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री यादवले यादवले यस्तो बताएका हुन् । यस क्रममा उनले एमालेसँग चुनावका क्रममा गठबन्धन भएको भन्ने बुझाइ गलत भएको बताएका थिए ।
साथै केपी ओली नेतृत्वको सरकारमा जसपा सहभागी भए पनि असंवैधानिक कदमको विरुद्धमा जसपाले प्रदर्शन गरेको स्मरण गर्दै लोकतन्त्रको रक्षाका लागि जसपा लागिरहने उनले बताए ।
यस्तै उनले कांग्रेस, एमाले र माओवादी केन्द्र एक्लै-एक्लै निर्वाचन लड्न सक्ने अवस्थामा नरहेको पनि जिकिर गरेका छन् ।

2 thoughts on “अन्तरघात गर्नेलाई पार्टीमा राख्‍न हुँदैन : अध्यक्ष यादव”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top