अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सनशाइन सामाजिक विकास संस्था द्वारा विविध कार्यक्रम आयोजित

अवध जागरण, कपिलवस्तु — अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२४ को अवसरमा सनशाइन सामाजिक विकास संस्थाले विद्यालय शिक्षा लक्षित गरी विविध शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। संस्थाले भाद्र १९ गते शुद्धोधन गाउँपालिकाको लबनीमा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।शुद्धोधन गाउँपालिकामा रहेका ७ वटा माध्यमिक विद्यालयहरूमध्ये ४ वटा विद्यालयहरूले यस प्रतियोगितामा भाग लिएका थिए। यो कार्यक्रम सनशाइन सामाजिक विकास संस्थाले यूएसएआईडी, सीएसएम, र द एसिया फाउण्डेशनको सहकार्यमा शुद्धोधन गाउँपालिकामा सञ्चालित सिमान्तकृत समुदायका लागि विद्यालय शिक्षामा सामुदायिक सहकार्य परियोजनाअन्तर्गत आयोजना गरिएको थियो। कार्यक्रम संयोजक तुलसीराम यादवका अनुसार दुई वटा कार्यक्रमहरूमा २४ जना बालबालिकाहरूले सहभागिता जनाएका थिए।निबन्ध लेखन प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बिमिहाकी छात्रा पुष्पा मुराउ प्रथम, सतकुमारी सेरचन माविका बिबेक यादव दोस्रो स्थानमा, नेपाल राष्ट्रिय नमुना माविकी निशा चौधरी तेस्रो स्थानमा, र मोती भारी मावि लबनीका इबरार अलि मुसलमानले सान्त्वना स्थान हासिल गरेका थिए।त्यस्तै, वक्तृत्वकला प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बिमिहाका अजय कुमार यादव प्रथम स्थान, मोती भारी मावि लबनीका इन्द्रजीत यादव दोस्रो स्थान, नेपाल राष्ट्रिय नमुना माविकी करिश्मा पाण्डेय तेस्रो स्थानमा, र नेपाल राष्ट्रिय मावि बिमिहाका अदित्यराज चौधरीले सान्त्वना स्थान हासिल गरेका थिए।कार्यक्रमको समापन सत्रमा बिजयी प्रतियोगीहरूलाई बधाई तथा शुभकामना दिंदै शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले अन्य सहभागी विद्यार्थीहरूलाई मिहिनेत गरी अघि बढ्न प्रोत्साहित गर्नुभएको थियो। साथै, उहाँले स्थानिय सरकार र विद्यालयहरूले गर्न नसकेको विद्यार्थीको लागि अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरेर शैक्षिक स्तर सुधार ल्याउन प्रयास गर्ने सनशाइन सामाजिक विकास संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेटमा शिक्षाको क्षेत्रमा बढी बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top