
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री महेन्द्रध्वज जिसीले विद्यालय हरेक हिसावले अनुकरणीय रहेको दावी गर्दै त्यसलाई टिकाइराख्नुपर्ने सुझाए ।
राजनीतिक खिचातानीका कारण अस्थायी रुपमा आफू मन्त्री भएको औंल्याउँदै उनले विद्यालय शिक्षामा पनि राजनीतिक प्रभाव पर्नु दुःखद् भएको बताए ।उनले विद्यालयका संस्थापकले देखेको सपना अनुसार विद्यालय संचालन हुनुपर्ने भन्दै शिक्षाको भाषिक माध्यमलाई महत्वपूर्ण नभई त्यसबाट प्राप्त ज्ञान, संस्कार तथा शिक्षालाई महत्व दिन सुझाव दिए । मन्त्री जिसीले असल शिक्षा दिन नसक्दा युवाहरुको विदेश पलायन नरोकिएको स्पष्ट पनि पारे ।
अभिभावक समेत रहेका नेपाली कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसीले विद्यालयको इतिहास सुदीर्घ रहेको जनाउँदै त्यसलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने धारणा राखे । शिक्षक नियुक्तिमा राजनीति हुनु गरेको तर्फ संकेत गर्दै केसीले शिक्षालाई बलियो बनाई राष्ट्र निर्माणमा होमिन सके देशले समृद्धि प्राप्त गर्ने धारणा राखे ।
पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले सैद्धान्तिक पठनपाठनका कारण नेपालको शिक्षा प्रणाली व्यवहारीक नभएको औँल्याउँदै त्यसले वेरोजगार मात्रै उत्पादन गरिरहेको तर्क गरे ।शिक्षाले अनुशासन तथा संस्कार पनि हस्तान्तरण गर्नुपर्ने जनाउँदै अध्यक्ष वास्तोलाले विद्यालय शिक्षालाई सुधार गर्ने योजनाका साथ वडाले केही महत्वपूर्ण निर्णय गरेको अवगत गराए ।
त्यस अवसरमा दाता परिवारको तर्फबाट डा.देवी गुरुङ, पोखरा महानगरपालिका वरिष्ट शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारी, जग्गादाता गोविन्द घिमिरे, घोताने परिवारको तर्फबाट लोकबहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष सोमनाथ पौडेल लगायतले पनि धारणा राखे ।
प्रधानाध्यापक शेरबहादुर थापाले पोखरा उपत्यकाको गौरवपूर्ण संस्थाका रुपमा विद्यालयलाई चिनाउँदै विद्यालयको स्वामित्वमा रहेको जग्गालाई व्यवस्थित सीमाङकन गर्नुपर्ने बताए । उनले विद्यालयमा सभाहलको आवश्यकता रहेको स्पष्ट पार्दै दाता खोजी चिल्डे«न पार्क निर्माण गर्नुपर्ने पनि औँल्याए ।
कार्यक्रमका बीच शिक्षकहरु विष्णुप्रसाद पराजुली, मनोज पौडेल, जमुना गुरुङ, सिर्जना घिमिरे, सावित्री अर्याल तथा कर्मचारीहरुतर्फ तारादेवी कुँवर तथा लोदर महत्तो थारु सम्मानित भए । त्यस्तै राष्ट्रिय परीक्षा बोर्डतर्फ कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने भविष्य पौडेल लगायतका विद्यार्थी पनि पुरस्कृत भए । त्यस्तै विभिन्न अक्षयकोष तथा विद्यालयबाट प्रदान गरिने छात्रबृत्ति वितरण गरियो । संगित शिक्षक समीर पुन लगायत विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति पनि राखे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य गोविन्दप्रसाद घिमिरेले स्वागत तथा शिक्षकहरु उदयराज पोख्रेल, बद्रीप्रसाद पंगेनी, सम्झना कट्टेल र वसुन्धरा ढकालले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरे ।