
काठमाडौं । सांसद भन्न वित्तिकै सभ्य, सालिन, भद्र र जनताका आवाज उठाउने व्यक्तिको अनुहार याद आउछ । तर, संसद बैठकमै सांसद अर्धनग्न बने भन्दा अचम्म लाग्नु स्वभाविक नै हो । यहि दृश्य स्वतन्त्र सांसद अमेरशकुमार सिंहले देखाएका छन् । संसद वैठकमै अर्धनग्न भएपछि अमरेशमाथि विभिन्न कोणबाट टिप्पणी शुरु भएको छ ।
सांसद सिंहले आफूले लगाएको कपडा उतारेर जनप्रतिनिधि, संसद र सरकार निर्वस्त्र रहेको सन्देश दिएको बताएका छन् । अर्थात् यिनलाई कुनै लाज, सर्म छैन । आफ्नो राजनीतिक र आर्थिक स्वार्थ सिद्ध गर्नका लागि यिनीहरू जे पनि गर्छन् भन्ने द्योतक हो ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदमै कपडा खोलेपछि हंगामा मच्चिएको छ । सांसद सिंहले भ्रष्टाचारविरुद्ध बोल्ने भन्दै सभामुखसँग समय मागेका थिए । तर, शून्य समयमाबाहेक समय दिन नसकिने सभामुखको अड्डीपछि पनि अमर्यादीत हर्कत गरेको भन्दै सिंहलाई सभामुखले गम्भीर चेतावनी नै दिए ।
सभामुख देवराज घिमिरेले सिंहलाई चेतावनी दिदै संसद् नियामावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित भएको बताए । उनले सम्मानित संसद् बैठकमा यस्तो अशिष्ट, अश्लील, अपमानजनक र आपत्तिजनक व्यवहार नदेखाउन भन्दै आवश्यक कारबाहीको चेतावनी नै दिनु प¥यो ।
संसद् नियमावलीको नियम २१ मा सांसदहरुले पालना गर्नुपर्ने नियमबारे ब्याख्या गरिएको छ । २१ ’घ’मा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने, व्यवस्था छ ।
यहि नियम आकर्षित हुने सभामुखको चेतावनी र नमानेमा संसद नियमावली ३० अनुसार नियन्त्रणमा लिन सक्ने विषय स्मरण गराए । त्यसपछि सिंहले फुकालेको गञ्जी लगाउनै भुलेर सर्ट मात्रै लगाए । सिंहको यस्तो हर्कतपछि एमाले सांसद अच्युत मैनालीले उनको स्वास्थ्य जाँचको माग नै गरेका छन् ।
संसदमा अमरेशले देखाएको व्यवहारले विभिन्न कोणबाट टिप्पणी शुरु भएको छ । यद्यपी उनले बोल्न समय नदिए आफुले कपडा खोल्ने जानकारी सभामुखलाई पहिलेनै गराएको दाबी गरेका छन् ।
त्यसबेलासँगै रहेका सांसदहरुले उनलाई सम्झाएको दाबी गरिएको छ । तर, सांसद जस्तो व्यक्तिले सभ्यता नै भुलेर नाङ्गिनुले भने संसदको गरिमामाथि नै प्रश्न उठाएको छ । लामो समय कांग्रेसको राजनीति गरेका सिंह पटक–पटक मन्त्री समेत भइसकेका व्यक्ति हुन् । भ्रष्टाचारविरुद्ध संसदमा जोडतोडले आवाज उठिरहेको छ ।
सिंह स्वयले समेत यो विषयमा आवाज उठाउदै आएका छन् । तर, सभ्य, शिष्ट, मर्यादीत र उदाहरणीय पात्र बन्नुपर्ने सांसद नै किन नाङ्गिए त ? के सतहमा भनिए जस्तै बोल्न नपाउँदैमा उनी नाङगो भएका हुन् ? वा यसपछाडी अन्य केही लुकेकोे छ ? यो चासोको विषय बनेको छ ।