काठमाडौं । दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन् ।
सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
यसैगरी काठमाडौंमा रहँदा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने समेत दूतावासले जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीवारमात्रै लुको भ्रमणका विषयमा औपचारिक घोषणा गरेको थियो ।
अमेरिकन चेम्बर अफ कमर्शको एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा बुझ्ने समेत दूतावासले जनाएको छ ।
लु यसअघि नेपालमा एमसीसी प्रतिनिधि सभाबाट पारित गर्न हुने वा नहुने भन्ने चर्को बहस भएका वेला काठमाडौँ आएर नेपाल सरकारका उच्च सरकारी प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए ।
त्यस समयमा उनको नेपाल आगमन र राजनीतिक भेटघाटले निकै चर्चा पाएको थियो ।