
काठमाडौं । लामो समय कोरोना संक्रमणका कारण आक्रान्त बनेको नेपालको अर्थतन्त्रले अझैसम्म पनि लय लिन सकेको छैन ।
मुलुकभित्र पर्याप्त मात्रामा बजार तरलता हुँदाहुँदै पनि अपेक्षित रुपमा लगानी विस्तार हुन सकेको छैन ।
बैंक तथा वित्तिय संस्थामा खरबौँ रुपैयाँ निक्षेप थुप्रिएको छ तर कर्जा प्रवाह हुन सकेको छैन ।
जसको कारण पछिल्ला दिनहरुमा धमाधम उद्योगीहरु व्यवसायबाटै पलायन भएका खबरहरु बाहिरिएका छन् ।
देशभर नै बेरोजगार समस्या र बजार महंगीले हद पार गरिसकेको छ । तर सरकारले अर्थतन्त्र सुधारका लागि कुनै ठोस कदम चाल्न सकेको छैन ।
अहिले नेपालको आर्थिक क्षेत्र विभिन्न समस्याहरुबाट गुज्रिरहेको छ । नेपाल राष्ट्र बैंककाअनुसार बैंकिङ्ग क्षेत्रमा पाँच खर्ब रुपैयाँ भन्दा बढि निक्षेप थुप्रिएको छ ।
सहज रुपमा कर्जा प्रवाह हुन सकेको छैन । मुलुकभित्र बेरोजगार र बजार महंगीको ग्राफ डरलाग्दो गरी उकालो लागिरहेको छ ।
आर्थिक मन्दीकै कारण मुलुकका प्रमुख क्षेत्रहरुमा व्यवसायहरू बन्द हुन थालेका छन् भने उद्योगहरूले उत्पादन कटौती गरिरहेका छन् ।
बैंक तथा वित्तीय संस्थाको ब्याज, विभिन्न कर, भाडा लगायत खर्च धान्न नसेकर व्यवसायीक क्षेत्रबाट हात झिक्न परेको व्यवसायीहरु बताउँछन् ।
सरकारले औद्योगिक क्षेत्रमा उत्पादनको लागत कम गर्ने नीति ल्याउन नसकेकै कारण लगानी बढ्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ बताउँछन् ।
उत्पादनअनुसार बजार माग नहुँदा अहिले उद्योगहरू पूर्ण क्षमतामा चल्न सकिरहेका छैनन् । तर सरकारले भने मुलुकको अर्थतन्त्रमा सुधार भइरहेको रटान लगाइरहेको छ ।
वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले विपे्रषण आय बढेको अर्थशास्त्रीहरुको भनाई छ ।
यही विप्रेषणलाई देखाएर अर्थतन्त्र सुधारोन्मुख छ भन्न नमिल्ने विज्ञहरुको तर्क छ । विप्रेषणमा जुनसुकै बेला समस्या आउन सक्ने भएकाले पनि धेरै नेपालीहरूले काम गर्ने खाडी मुलुक र मलेशियामा कुनै समस्या आयो भने नेपालीहरू स्वदेश फर्कनुपर्ने विज्ञहरुको भनाई छ ।
मुलुकभित्र दीर्घकालीन र बलियो अर्थतन्त्र निर्माण हुन नसक्नुको पछाडी स्वदेशी उद्योग, व्यवसायको उचित प्रवद्र्धन नहुनु, व्यवसायमैत्री ऐन कानुनहरुको अभाव हुनु, लगानीकर्तालाई सुरक्षाको प्रत्याभुति दिलाउन नसक्नु जस्ता कारण रहेको अर्थशास्त्री प्रा.डा.शिव अधिकारी बताउँछन् ।
अहिले देशभर ठुला उद्योगहरु धरासायी हुँदै गएका छन् । आर्थिक कारोबार न्युन हुनु, मुल्यवृद्धि तिव्र गतिमा हुनु, र उपाभोक्ताको क्रयशक्ति कमजोर हुँदै जानुले पनि अर्थतन्त्रमा समस्या देखिएको विज्ञहरु बताउँछन् ।
सरकारको बजेट, नीति तथा कार्यक्रम र मौद्रिक नीतिले समेत अपेक्षित सम्बोधन नगरेकोले अर्थतन्त्र धरासायी हुँदै गएको विज्ञहरु बताउँछन् ।
त्यसैले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन सरकारले उद्योगसँग सम्बन्धित नीतिमा नै आमुल परिवर्तन ल्याउन पर्ने पुर्व बैंकर्स अनिल भट्टराईको भनाई छ ।
नेपालमा आर्थिक गतिविधिहरू पहिल्यैदेखि नै लगानी गरेर आन्तरिक उत्पादन बढाउनेतर्फ भन्दा पनि आयातमा मात्र केन्द्रित भएर आम्दानी गर्ने खालका देखिन्छन् ।
स्थानीय अर्थतन्त्रलाई बलियो नबनाएसम्म अर्थतन्त्रको समस्या समाधान नहुने भएकाले तत्कालका लागि सरकारले मुलुकमा उपलब्ध स्रोतको उचित उपयोग गर्ने, पारदर्शी बनाउने, दीर्घकालमा उत्पादन र उत्पादकत्व बढाउनतर्फ लाग्न आवश्यक छ ।