अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममै उद्योगीलाई झपारेपछि…

अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममै उद्योगीलाई झपारेपछि…

काठमाडौं । सरकारले बारम्बार निजी क्षेत्रसँगको साझेदारीमा अघि बढ्ने प्रतिवद्धता जनाइरहन्छ । तर निजी क्षेत्र भने सरकारले आफूलाई वेवास्ता गरेको आरोप लगाइरहन्छ ।

निजी क्षेत्रको समस्यातर्फ सरकारले ध्यान नदिएको उद्योग ब्यवसायीहरुले गुनासो गरिरहँदा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षलाई मंगलबार सार्वजनिक कार्यक्रममै गज्जबले झपारेका छन् ।

सरकार र निजी क्षेत्र बीचको मनमुटाव नौलो कुरा होइन, तर सरकारले निजी क्षेत्रसँगको साझेदारीमै सरकार अघि बढ्ने प्रतिवद्धता जनाउन भने पछि पर्दैन ।

सरकार र निजी क्षेत्रका प्रतिनिधिबीच सार्वजनिक रुपमै आरोप प्रत्यारोप÷सवाल, जवाफ भइरहन्छन । मङगलबार काठमाडौंमा आयोजित सरकारी कार्यक्रममा यस्तै दृष्य देखिएको छ ।

कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महत र उद्योग वाणिज्य महासंघका प्रतिनिधिबीच चर्काचर्की नै परेको छ ।

राजश्व संकलन कसरी गर्ने भन्ने विषयमा छलफल गर्न भन्दै आन्तरिक राजस्व विभागले आयोजना गरेको नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारलाई आरोप लगाए भने अर्थमन्त्री डा.प्रकाशरण महतले उपाध्यक्ष श्रेष्ठलाई सार्वजनिक रुपमै हप्काए ।

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कृषि क्षेत्रमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाएर सरकारले महँगी बढाएको भन्दै अर्थ मन्त्रालयको कर नीतिको आलोचना गरेका थिए ।

उनले अर्थतन्त्र खराब हुँदा पनि सरकारले केही काम गर्न नसकेको गुनासो गरेका थिए ।

श्रेष्ठपछि बोल्ने पालो पाएका अर्थमन्त्री डा.महतले उपाध्यक्ष श्रेष्ठको अभिव्यक्तिको खण्डन मात्रै गरेनन्, आक्रोशित हुँदै जवाफ फर्काए ।

अर्थमन्त्री महतले चेम्बरका अध्यक्ष र परिसंघका उपाध्यक्षले सकारात्मक कुरा गर्दा एफएनसीसीआईका वरिष्ठ उपाध्यक्षले निक्कै नेगेटिभ कुरा मात्रै गरेर सरोकारवालाको मनोबल घटाउने कुरा गरेको उल्लेख गरे ।

तपाईंहरुको संस्थागत धारणा के हो ? भन्दै उपाध्यक्ष श्रेष्ठलाई स्पष्ट पार्न मन्त्री महतले चुनौति दिए ।

निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका अर्थमन्त्री डा. महतले श्रेष्ठप्रति व्यापार मात्रै गर्ने गरेको टिप्पणी गरे । आफूले उत्पादन बढाउने नीति लिँदा सरकारको आलोचना गर्ने भन्दै मन्त्री महतले सकारात्मक कुरा गर्न आग्रह गरे ।

सरकारले निजी क्षेत्रसँगको साझेदारीमै काम गर्ने बताइरहँदा उद्योग ब्यवसायीका प्रतिनिधिहरुलाई नै ठाउँको ठाउँ झपार्ने अर्थमन्त्रीको शैलीले भने उद्योेग ब्यवसायीहरुलाई निराश बनाएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *