अर्थमन्त्री भन्छन्- ‘अब अर्थतन्त्र चलायमान हुन्छ’

अर्थमन्त्री भन्छन्- ‘अब अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दबाब सिर्जना भएको बताए । “मुलुकको अर्थतन्त्रलाई चलायमान बताउन राज्य संयन्त्र र नागरिक समाजलगायत सबैको सामूहिक प्रयास र प्रतिबद्धता आवश्यक छ”, उनले भने ।

राजस्व र पुँजीगत खर्च बढाउने तथा साधारण खर्च घटाउने विषयमा सरकार गम्भीर रहेको बताउँदै उनले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको दाबी गरे । तर देश आर्थिक हिसाबले समस्यामुक्त नभएको र कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त नहुने जिकिर पनि उनले गरे। “अर्थतन्त्रमा बहस चलिरहन्छ, समस्या आइरहन्छ, समाधानको बाटो पनि पहिल्याउँदै जाने हो”, उनले भने ।

अर्थ मन्त्रालयका राजस्व सचिव डा रामप्रसाद घिमिरेले मुलुकको समग्र राजस्व सङ्कलन र बजेट खर्च स्थिति प्रस्तुत गरे । उनले पेन्सन, सामाजिक सुरक्षा, तलबलगायतमा बर्सेनि दायित्व बढ्दै गएकाले स्रोत व्यवस्थापन चुनौती बन्दै गएको बताए ।

चालु आर्थिक वर्ष अनिवार्य दायित्वको भुक्तानीका लागि यही असार २५ गतेभित्र करिब रु २५ अर्बको थप स्रोत व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको सचिव घिमिरेकाे भनाइ छ । उनले भने, “स्रोत सङ्कलनको अवस्था हेर्दा खर्चलाई मितव्ययी बनाउन जरुरी छ, पुँजीगत खर्चतर्फ विगतमा सिर्जित दायित्व भुक्तानी, स्रोत सहमति प्रदान गरिएका रकमका लागि ठूलो रकमको स्रोत व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।”

आजको बैठकमा समिति सदस्यहरुले वार्षिक लक्ष्यको तुलनामा राजस्व सङ्कलन कम भएकाले आर्थिक गतिविधि चलायमान गर्न चुनौती खडा गरेको तथा उद्योग प्रवर्द्धनमा लगानी गर्न गाह्रो भएको बताए । साथै विप्रेषणले देशको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको र यसमा आउने उतारचढावले उब्जन सक्ने चुनौती तथा वैकल्पिक मार्गबारे सरकारको धारणा माग समेत गरे ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *