
१५ पुष २०८१, सोमबार
असोज दोस्रो साता परेको अविरल वर्षाका कारण देशभर बाढीपहिरोले ठूलाे क्षति पुर्याएपछि निर्जीवन बीमातर्फ करिब १३ अर्ब रुपैयाँ बराबर बीमा मागदाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म डेढ अर्ब रुपैयाँ बराबरको भुक्तानी गरिएको छ।
गत असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण बाढीपहिरोले वितण्डा मच्चाउँदा जनधन र भौतिक संरचनामा व्यापक क्षति पुगेको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको प्रारम्भिक तथ्यांकअनुसार बाढीपहिरोबाट मुलुकको अर्थतन्त्रमा साढे ४६ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।
बीमा प्राधिकरणका अनुसार बाढीपहिरोका कारण ३ हजार ६ सय ७६ वटा बीमा दाबी परेको छ। यी दाबीबाट कुल १२ अर्ब ८८ करोड ९३ लाख ६१ हजार रुपैयाँ बराबरको मागदाबी गरिएको छ।
हालसम्म १ हजार ७ सय २० वटा मागदाबी भुक्तानी प्रक्रियामा छन्। ती दाबीबाट १ अर्ब ५२ करोड १८ लाख ९ हजार रुपैयाँ भुक्तानी गरिएको छ। बाँकी दाबीहरूका सम्बन्धमा अध्ययन र मूल्यांकन कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।