आइटी एक्स्पोमा वेटर एप सर्वोत्कृष्ट

आइटी एक्स्पोमा वेटर एप सर्वोत्कृष्ट

पोखरा। गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स, लामाचौरमा आयोजित ‘नवौं जिसिइएस आइटी एक्स्पो–२०८०’ मा वेटर मोबाइल एप सर्वोत्कृष्ट भएको छ । गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्सका अर्जुन अधिकारी, एलसन गर्बुजा, योगेश थापा र विवश थापामगरले निर्माण गरेको उक्त एप सर्वोत्कृष्ट हुँदै नगदसहित पुरस्कृत भयो । सोही कलेजकै किसेक्युर प्रोजेक्ट दोस्रो, भर्चुअल टुर अफ जिसिइएस इन गेम दोस्रो र पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययनको रोबोर्टिक्स सान्त्वना भए ।

यस्तै, कोडिङ प्रतिस्पर्धामा पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान प्रथम भयो । कलेजका तर्फबाट अनिश चापागाईं, राजन रेगमी, विमर्श खनाल थिए । गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स दोस्रो र सोच कलेज तेस्रो भए । गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्सको ‘साइन्स बक्स’ इन्नोभेटिभमा र ‘पाठशाला’ पब्लिक च्वाइसमा पर्न सफल भए ।

विद्यार्थीको प्रतिभा तथा सिर्जनशीलतालाई हौसला प्रदान तथा सफ्टवेयर इन्जिनियरिङ सूचना प्रविधिबारे सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यले २ दिनसम्म एक्स्पो आयोजना गरिएको हो । सफ्टवयर इन्जिनियरिङ–२०१८ ब्याचका विद्यार्थीले आयोजना गरेको एक्स्पोमा सफ्टवेयर प्रदर्शन, कोडिङ प्रतिस्पर्धा, हार्डवेयर शोकेस लगायत गरी ३० स्टल थिए । सो अवसरमा विविध खेलका प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको एक्स्पो अध्यक्ष राजन अर्यालले बताए ।

विजयीलाई गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्सका प्राचार्य वीरेन्द्र खड्का, सहप्राचार्य अशोक पराजुली, कार्यक्रम संयोजक राजेन्द्रबहादुर थापा, एक्स्पो अध्यक्ष राजन अर्याल लगायतले पुरस्कार वितरण गरे । कार्यक्रम सञ्चालन विद्यार्थी अनुष्का पराजुली र अस्मित नेपालीले गरेका थिए । एक्स्पोको बिहीबार गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले उद्घाटन गरेकी थिइन् ।

एक्स्पो अवसरमा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता, वृक्षरोपण र रक्तदान कार्यक्रम भएको थियो । गण्डकी कलेज नेपालकै पहिलो सामुदायिक सफ्टवयर इन्जिनियरिङ कलेज हो । यहाँ स्नातक तहमा सफ्टवयर इन्जिनियरिङ साथै कम्प्युटर इन्जिनियरिङ र स्नातकोत्तर तहमा इन्फरमेसन सिस्टम इन्जिनियरिङ पढाइ हुन्छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top