‘आदिपुरुष’को प्रदर्शन रोक्न मेयरको निर्देशन, सुटुक्क नेपाली जमिन नापेर गयो भारत (न्यूज रफ्तार)

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक खड्काले बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

आईतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाहरुमा अविरल वर्षापछि गएराति आएको बाढी र पहिरोमा परेकालाई उद्धार, राहत, क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेका हुन् ।

संखुवासभाको सुपर हेवा जलविद्युत आयोजनामा काम गर्ने १६ जना मजदुर वेपत्ता भएको र उनीहरु मध्ये ३ जना फेला परेको, एक जना मृत अवस्थामा भेटिएको उल्लेख गर्दै उनले वेपत्ता भएका अन्यको खोजी कार्यमा तीव्रता दिन पनि सरकारको ध्यानाकर्षण गराए । सांसद खड्काले सो घटनाका परी वेपत्ता भएकाहरुको उद्धार र राहतको काममा सहयोग गर्न सबै राजनीतिक पार्टीहरुलाई आग्रह समेत गरे ।

बालेनले सोमबारदेखि हिन्दी फिल्म चल्नै नदिने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ’बालेन’ले सोमबारदेखि भारतीय फिल्म ’आदिपुरुष’को प्रदर्शन रोक्न निर्देशन दिएका छन् । जानकी भारतीय छोरी हुन भन्ने सम्वाद सच्याउन भन्दै समय नै दिएका बालेनले यस्तो निर्देशन दिएपछि आदिपुरुषको प्रदर्शन रोकिने देखिएको छ ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन् भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर बालेनले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका हुन् ।

आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् ।

मनोज मुन्तशीरको यो भनाईमा अहिले नेपालभर चौतर्फी विरोध भइरहेको छ । बालेनले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि पत्र पठाउँदै उक्त आपत्तिजनक संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गर्दै पत्र पठाएका थिए ।

यसैबीच, चलचित्र संघका पूर्वअध्यक्ष समेत रहेका प्रदीपकुमार उदयले बुटवलस्थित आफ्नो हल द्धारिकाउदय सिनेमाज्बाट चल्दाचल्दैको फिल्म ‘आदिपुरुष’लाई उतारेका छन् । उक्त सिनेमा हल अहिले बन्द गरिएको छ । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।

भ्रम फैलाउने ‘आदिपुरुष’ का लेखक मुन्तशीरको चौतर्फी विरोध

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भारत सुगौली सन्धिबाट पछि हटेको हो ? भनी सरकारलाई प्रश्न गरेका छन् । भारतले पछिल्लो समय आदिपुरे सिनेमामार्फत् सीता भारतकी छोरी हुन् भनेर अत्यन्तै भ्रमपूर्ण सन्देश दिन खोजिरहेको उल्लेख गर्दै उनले यसबारे सरकारलाई स्पष्ट हुन पनि आग्रह गरे । उनले भने, ‘अहिले फेरि यो आदिपुरे सिनेमाको नाममा सिता भारतकी छोरी हुन भन्ने अर्को भ्रमपूर्ण समाचार सन्देश प्रवाह गर्ने मात्रै होइन ।

त्यसका लेखकले नेपाल भारतकै अंग हो भनेर अत्यन्त गलत अन्तरर्वार्तामार्फत अभिव्यक्ति दिइराखेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद गैरेले बुद्धलाई भारतमा जन्मेको भन्ने, कपिलबस्तु र लुम्बीनीलाई आफ्नो सदनमा नक्शांकन गरेर अत्यन्तै गलत काम गरेको भन्दै भारतप्रति आक्रोश पनि व्यक्त गरे ।

उनले भारतले नेपाललाई ग्रेटर नेपालको बहसतर्फ धकेल्ने प्रयास गरिरहेको उल्लेख गर्दै नेपालको एकइन्च पनि भूमि छोडने पक्षमा आफूहरु नरहेको पनि प्रष्ट पारे । सांसद गैरेले नेपाल भारतकै अंग हो भन्ने खालको अभिव्यक्ति आदिपुरे सिनेमा लेखकले अन्तरवार्तामार्फत दिएको भन्दै आपत्ति समेत जनाए ।

समाजवादी मोर्चाको घोषणा सोमबार

लामो कसरतपछि सोमबार समाजवादी मोर्चा घोषणा गर्ने सहमति भएको । जसपा नेता राजेन्द्र श्रेष्ठका अनुसार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले सोमबार मोर्चाको घोषणा गर्ने सहमति गरेको हो ।

राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर मोर्चा घोषणा गर्न नेताहरु सहमत भएका छन् । तर, बाबुराम र उपेन्द्र मोर्चामा आउने नआउनेबारे अनेक अड्कल भइरहेका छन् । यो मोर्चाको नेतृत्व सबै दलका नेताहरूले आलोपालो गर्ने सहमति भइसकेको छ ।

यो मोर्चा घोषणा भएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल ५४ सीटको नेतृत्व गर्नेछन् । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ ।

सुटुक्क नेपालको जमिन नापेर गयो भारत

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कञ्चनपुरस्थित भुजेला, गड्डा चौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेकोबारे सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

असार १ गते भारतीय प्राविधिकहरूको टोलीले एकतर्फी रुपमा सो जमिनमा नापजाँच गर्दा पनि नेपालका सुरक्षाकर्मीहरूले सुईंकोसमेत नपाएको भन्दै उनले आपत्ति समेत जनाए ।

रास्वपाका उपसभापति समेत रहेका अर्यालले नेपालको भूमि भारतीय पक्षले एकतर्फी रुपमा नापजाँच गर्ने काम सामान्य र स्वभाविक नभएको उल्लेख गर्दै त्यसबारे तथ्य पत्ता लगाउन नेपाल सरकारले ढिलाई गर्न नहुने बताए । उनले क्षेत्रमा खटाइएका सुरक्षाकर्मीहरुलाई उचित परिचालन गर्न पनि सरकारलाई सचेत समेत गराए ।

कोशी प्रदेश हटाइँदा बैठकमै हंगामा

नेकपा एमालेले प्रदेशसभाबाट दुईतिहाइले पारित भएर आएको कोशी प्रदेश संघीय सरकारले अस्वीकार गरेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले पर्यटन मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल गर्नका लागि वितरण गरिएको पुस्तकमा कोशी प्रदेश अस्वीकार गरेर प्रदेश १ राखिएकाले यो स्वीकार्य नभएको भन्दै विरोध जनाए ।

प्रदेशसभाले दुई तिहाइबाट आफ्नो नामांकन गरिसकेको छ । तर, पर्यटन मन्त्रालयले अस्वीकार गरेर प्रदेश १ मा यति विनियोजन गरिएको छ भन्ने उल्लेख गरिएको छ । यो प्रदेशसभाको विशेषाधिकारको हनन हो भनि उनले आवाज उठाए ।

एमालेको आपत्तिपछि पर्यटनमन्त्री सुदन किरातीले कोशी प्रदेश हुनुपर्नेमा प्रदेश १ भएकाले सच्याएर ल्याउने प्रतिबद्धता जनाए । तर, एमाले सचेतक बर्तौलाले प्रदेश १ हुँदै नभएकाले स्वीकार्न नसक्ने अडान लिएपछि सभामुखले पर्यटन मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल कार्यसूचीबाट हटाएको जानकारी गराए ।

माधव नेपाललाई आफ्नै उपाध्यक्षले दिए चुनौति

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे बजेट पास गर्ने विषयमा कठोर बन्दै गएका छन् । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दोहो-याएका हुन् ।

पाण्डेले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरू त्यसमा समर्थन गर्न नसक्ने प्रष्ट्याए । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने उनको भनाई छ ।

‘यही अवस्थामा यो बजेट पास हुँदैन । मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईं एक्लै हाल्नुस्, हामी हाल्दैनौं भनेको छु ’, पाण्डेले भने । उनले केन्द्र सरकार राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भएको भए बजेटमा यस किसिमका समस्या नै नआउने दाबी गरे ।

‘नागरिकतामा दलभन्दा माथि उठौँ’

जनमत पार्टीका सांसद अब्दुल खानले नागरिकताविहीनहरूले श्रृखलाबद्ध रूपमा आत्महत्या गर्न थालेकाले सरकारलाई गम्भिर बन्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दलभन्दा माथि उठेर नागरिकताको समस्या समाधान गर्न एकजुट हुन आग्रह गरे ।

उनले भने, ‘१ गते सुनसरीका हरिनारायण मण्डले नागरिकताको सिफारिस माग्दा वडा कार्यालयबाट अपशब्द प्रयोग गरेको कारण आत्महत्या गरेँ । २ गते मोरङका चन्द्र झाका २२ वर्षीय छोरा निरजकुमार झाले बाबुको जन्मसिद्ध नागरिकता र आमाको वंशजको नागरिकता हुँदा हुँदै पनि नागरिकता नपाएर आत्महत्या गरे ।’ उनले जनता नरहे कसमाथि केको लागि राजनीति गर्ने भन्दै प्रश्न गरे ।

केपी भेट्न वामदेव च्यासलमा

नेता वामदेव गौतम पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेका छन् । नेकपा एमालेले ७० वर्षे उमेर हदको प्रावधान हटाएपछि वामदेव ओली भेट्न च्यासल पुगेका हुन् । नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चा बनाउने तयारी भइरहेका बेला एमालेमा फर्किन इच्छुक वामदेव अहिले ओलीसँग वार्ता गरिरहेका छन् ।

नेकपा एकता अभियानका संयोजक वामदेवले यसअघि गत जेठ २४ गते शर्मा ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्किने बताएका थिए । राष्ट्रियसभाका सदस्यसमेत रहेका उनले एमालेले ७० वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेपछि पुरानै पार्टीमा फर्किने सम्भवना बढेको बताएका थिए ।

हालसम्म एमालेको सदस्यता त्यागिनसकेका उनले एमालेले आफ्नो योग्यताअनुसारको भूमिका दिएमा सक्रिय हुने बताएका थिए । नेकपा माओवादी केन्द्रसँग मिलेर बनेको नेकपामा २०७७ कात्तिकदेखि विवाद बढ्दै गएर विभाजनसम्म पुग्दा वामदेव ओलीविरुद्ध उभिएका थिए ।

त्यसपछि २०७७ फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएसँगै वामदेवले एमालेमा रहेर काम गर्न चाहेनन् । उनले ओलीले एकलौटी गरेको भन्दै एमालेका उपाध्यक्ष रहँदै वामदेवले २०७८ भदौ १८ गते पार्टी परित्याग गरेका थिए ।

नेता र नेता पत्नीलाई विदेशमा उपचार गर्न नमिल्ने व्यवस्था गरौँ– प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । आईतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै यस्तो माग गरे ।

सांसद सुवालले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न नचाहनेलाई सरकारले अनुमति दिने गरी कानुन निर्माण गर्नुपर्ने आवश्यक्ता पनि सांसद सुवालले औंल्याए । शिक्षा र स्वास्थ्य उपचारमा रोक्ने काम गर्नु भनेको मानवताविरुद्धको अपराध भएको उल्लेख गर्दै उनले मेडिकल कलेज खोल्ने र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने कामलाई सरकारले रोक्न नमिल्ने तर्क गरे । सांसद सुवालले जिल्ला सरकारी अस्पतालहरुलाई जनशक्ति र उपकरणको अभाव नहुने गरी आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

पत्रकार शुद्धीकरणमै झेल !

नेपाल पत्रकार महासंघ सदस्यता शुद्धीकरणका नाममा पूर्वाग्रही भएको भन्दै नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले आपत्ति जनाएको छ । आइतबार संगठनले एक विज्ञप्ति जारी गर्दै शुद्धीकरणको विषय र उद्देश्य सकारात्मक हुँदा हुँदै पनि विभिन्न जिल्ला शाखाले सदस्यता नवीकरणका सिलसिलामा पूर्वाग्रहवस काम गरेको पाइएको जनाएको हो ।

‘बिना आधार र तर्क सदस्यको सूचीबाट शुद्धीकरणमा पारिएको सन्दर्भमा यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । आफूखुशी मापदण्ड तय गर्ने, फरक संगठन वा समूहमा आवद्ध भएकै नाममा शुद्धीकरण गरियो भन्नेजस्ता मनोमानीपूर्ण काम भएका छन्, विज्ञप्तीमा उल्लेख छ । शुद्धीकरणको विषयलाई दुरुपयोग गर्दै पूर्वाग्रही गतिविधि तत्काल रोक्न महासंघ नेतृत्वसमक्ष पनि संगठनले माग गरेको छ ।

प्राविधिक कारण विद्युतमा अवरोध आयो– कुलमान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउने जाने गरेको उनको भनाई छ । धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको समेत कुलमाले बताए ।

तराई मधेशमा धेरै गर्मी भएकाले विद्युत खपत बढ्दा पनि ट्रान्समिसन लाइनमा समस्या आएको उनको भनाइ छ । नेपालमा उत्पादन भएर यहाँ खपत नभएको विद्युत मात्र निर्यात गर्ने गरिएको उनले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top