
काठमाडौं । अभिव्यक्ति यस्तो विषय हो, जुन बोलेपछि त्यसको प्रभावलाई रोक्न कठिन हुन्छ । बोल्नुभन्दा पहिले नै सचेतता अपनाउन नसकिए आफ्नै बोलीका कारण गम्भीर क्षति व्यहोर्नुपर्ने हुनसक्छ ।
यस्तै फसाद आइलागेको छ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई । आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीको भूमिका रहेको आशयको अभिव्यक्तिपछि उनी विवादमा तानिएका छन् । हुनत, प्रचण्ड बोलेकै कारण अदालतमा मुद्दा समेत खपिरहेका छन् ।
युद्धको नेतृत्वदेखि शान्ति प्रक्रियामा आइपुग्दा सम्म पनि प्रचण्ड निर्णायक बनिरहेका छन् ।
युद्धका काल्पनिक प्रचण्ड र शान्ति प्रक्रियापछिका प्रचण्डलाई नेपाली जनताले झेलिरहेका छन् । कतिपय विषयमा फ्याट्ट बोलिदिने प्रचण्ड आफै क्रान्तिकारी रोमान्सदेखि उत्तेजनामा आएकै कारण समस्यामा परेको दाबी गर्छन् ।
समकालीन राजनीतिमा प्रचण्ड नै त्यस्तो व्यक्ति हुन, जो बेलगाम बोली र कामका कारण सत्ताच्यूत समेत भएका छन् ।
पशुपति र प्रधानसेनापतिलाई चलाएकै कारण प्रधानमन्त्रीबाट राजीनामा दिनुपरको स्वीकार गर्ने प्रचण्ड फेरि आफ्नै अभिव्यक्तिका कारण फसादमा परेका छन् ।
प्रधानमन्त्री प्रचण्ड भ्रष्टाचार र अनियमितताविरुद्ध कठोर रुपमा प्रस्तुत भइरहेपनि बेलाबखत आफ्नै बोलीका कारण संकटमा परेका छन् ।
गएको सोमबार पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिए ।
उक्त अभिव्यक्तिले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पद जोगाउन हम्मेहम्मे परिरहेको छ । संघीय संसदको दुवै सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसदमा विरोध गरिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्ड बेलगाम बोलीका कारण समस्या भोग्दै आएका छन् । गत महिना भारत भ्रमणका क्रममा पनि प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति विवादमा तानिएको थियो ।
भारतसँगको सीमा समस्या समाधानको विकल्पमा चर्चा गर्दै उनले नेपाललाई भारतले बङ्गलादेशसम्मको सडक पहुँच दिनुपर्ने बताएको भन्दै विवाद सिर्जना भयो ।
यसबारे संसद्मा समेत विरोध भयो । प्रचण्डले आफूले त्यस्तो अभिव्यक्ति नदिएको प्रष्टिकरण नै दिनुप¥यो । त्यस्तै २०७९ साल साउन १ गते प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेका सम्बन्धमा दिएको अभिव्यक्ति पनि विवादमा तानिएको थियो ।
आबे नेपाल आउँदा उनीसँग आफूले भेटेको अभिव्यक्ति प्रचण्डले दिएका थिए । जबकि, जापानका पूर्वप्रधानमन्त्री आबे नेपाल आएकै थिएनन् ।
त्यसैगरी २०७६ सालमा माघी महोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले दिएको अभिव्यक्ति पनि विवादमा तानिएको थियो ।
उनले माओवादी सशस्त्र द्वन्द्वकालका बेला मारिएको १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए ।
उनका यिनै अभिव्यक्तिलाई लिएर प्रचण्डले अदालतमा मुद्दासमेत भोगिरहेका छन् । अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले जनयुद्धकालीन हत्यामा प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ ।
यी त केही उदाहरणमात्र हुन् । उनले बेलाबखत यस्ता विवादित अभिव्यक्ति दिँदै आएका छन् ।
आवेग र भावनामा बोल्दै जाँदा प्रचण्ड आफ्नो अभिव्यक्तिमा हेक्का नै राख्न सक्दैनन् ।
पूर्वतयारी, चुस्त सचिवालय र युग सुहाउदो अभ्यास गर्न नसक्ने हो भने प्रचण्ड आफ्नै अभिव्यक्तिका कारण थप जटिल समस्यामा नफस्लान भन्न सकिन्न ।