आर्थिक वृद्धिदर भेट्टाउन मौद्रिक नीति सक्षम : आईएमएफ

आर्थिक वृद्धिदर भेट्टाउन मौद्रिक नीति सक्षम : आईएमएफ

  • सुश्मिता वानिया

काठमाडौं । चालू वर्षको मौद्रिक नीति लचिलो हुनु पर्नेमा सरकार, नीजि क्षेत्र, र सरोकारवालाहरुले नेपाल राष्ट्र बैंकलाई सार्वजनिक रुपमै दबाद दिए । राष्ट्र बैंकले पनि सजगतापूर्वक लचिलो बन्दै गत साता मौद्रिक नीति सार्वजनिक गर्यो ।

सार्वजनिक मौद्रिक नीतिले बजार चलायमान नहुने भन्दै निजी क्षेत्रले आलोचना गरिरहेको छ । तर, नेपाल भ्रमणमा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को टोलीले चालू वर्षको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नका लागि मौद्रिक नीति सक्षम भएको जनाएपछि राष्ट्र बैंकलाई राहत मिलेको छ ।

नेपाल राष्ट्र बैंकले सावधानीपूर्वक र तथ्यमा आधारित मौद्रिक नीति ल्याएकाले मूल्यवृद्धि नियन्त्रण र बाह्य क्षेत्रका उपलब्धि जोगाइराख्न सक्षम हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विहिबारमात्रै साँझ जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नेपाल सरकारले कोषसँग विस्तारित कर्जा सुविधा (ईसीएफ)का लागि गरेका प्रतिबद्धताअनुसार काम भए/नभएको अनुगमनमा आएको आईएमएफको टोलीले यस्तो बताएको हो । त्यसो त, सार्वजनिक रुपमा पटकपटक मौद्रिक नीति लचिलो बनाउन दबाद दिएका अर्थमन्त्री डा.प्रकाशशरण महतले पनि यो मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरेका छन् ।

गत आर्थिक वर्षमा कर्जा विस्तार साह्रै न्यून भएको आईएमएफको भनाई छ । गत आर्थिक वर्षमा राष्ट्र बैंकले १२.६ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखे पनि ३ प्रतिशतभन्दा कम मात्र प्रगति भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत निजी क्षेत्रतर्फ तय गरेको साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्यले आन्तरिक अर्थतन्त्र समेत चलायमान हुने आईएमएफको विश्वास छ ।

यद्यपि वित्तीय स्थायित्व कायम गर्न सतर्कतापूर्वक कर्जाको गुणस्तरमा निगरानी र यसका लागि चरणबद्ध नियमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउँदै जानुपर्नेमा जोड छ । नेपाल राष्ट्र बैंकले सही ढंगले मौद्रिक नीतिको परिचालन गर्नसकेमा आईएमएफको निष्र्कष ठिक भएको अर्थविद्हरुको तर्क छ ।

सरकारी वित्तमा दिगो सुधारका लागि आर्थिक वर्ष ०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको आईएमएफको धारणा छ । बजेटमा तय गरेका लक्ष्य प्राप्तिका लागि सरकारले पुँजीगत खर्च क्षमता बढाउनुपर्ने आईएमएफको सुझाव छ । टिडियन किन्डाको नेतृत्वमा आईएमएफको एक टोली गत शनिबारदेखि बुधबारसम्म नेपालमा थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *