काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेड र प्रोफेसनल कम्युटर सिस्टम प्रालि (पीसीएस) बीच शेयर व्यवस्थापन प्रणाली कार्यान्वयन गर्नेसम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा हाइडोपावरका प्रमुख कार्यकारी सञ्चालक सतिस न्यौपने, शेयर विभाग प्रमुख सुजन अधिकारी र पीसीएसका प्रमुख कार्यकारी अधिकृत मोहम्मद इल्ताफ हुसैन अन्सारी तथा प्रमुख बजार व्यवस्थापक किर्तनराज दाहालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार पीसीएसले उपलब्ध गराउने प्रणालीबाट हाइड्रोपावरको शेयर व्यवस्थापन हुनेछ । यो प्रणाली लागू भएपछि हाइड्रोपावरले वितरण गर्ने लाभांशको हिसाब गर्न, बाँडफाँट गर्न सहज हुने बताइएको छ ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा हाइडोपावरका सञ्चालक सन्जिव न्यौपाने, लेखा अधिकृत तथा कम्पनी सचिव गोकुल पाण्डे र प्राविधक शाखा प्रमुख आशिष फुइयालको उपस्थिति रहेको थियो ।
९.७ मेगावाटको इङवा हाइडेपावर लिमिटेड पाँचथर जिल्लामा अवस्थित छ । गत वैशाखमा सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हाइड्रोपावरको भौतिक प्रगति ९५ प्रतिशतभन्दा बढी भइसकेको छ ।
आगामी मंसिर भित्र विद्युत उत्पादन सुरु गर्ने तयारी सहित काम भइराखेको कम्पनीले जनाएको छ । एक अर्ब ९५ करोड लगानीमा निर्माण भइरहेको अयोजनामा ग्लोबल आइएमई बैंकको प्रमुख लगानी छ ।
हाइड्रोपावरले गत वैशाखमा स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी, म्युचुअल फण्ड कम्पनीहरु र सर्वसाधारणलाई कुल ३० प्रतिशत शेयर निष्काशन गरेको थियो ।
अहिले हाइड्रोपावरको साधारण शेयर निष्काशन तथा बाँडफाटको सबै प्रक्रिया पुरा गरी धितोपत्र बजारमा सूचिकृत भई दोस्रो बजारमा कारोबार भइराखेको छ ।