- सुशीला कार्की
दोलखा । गाडीमा इमर्जेन्सी लाइट बालेर दोलखाबाट काठमाडौं जाँदै गरेका पूर्वमन्त्री पार्वत गुरुङले आफूलाई अवरोध गरेको भन्दै अर्को सवारीका चालकमाथि हातपात गरेका छन् ।
शनिबार राति दोलखाबाट काठमाडौं हुँइकिएका गुरुङले काभ्रेको खावामा अर्को गाडी चलाइरहेका एक युवकमाथि हातपात गरेका हुन् । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका गुरुङ वाग्मती प्रदेश ०२५ च ५४०२ नम्बरको निजी कारमा दोलखाबाट काठमाडौं जाँदै थिए ।
सोही बाटो भएर अघि बढिरहेको ०२३ च ८९२५ नम्बरको कार अघि पटि थिए । दोस्रो गाडी चलाइरहेका युवा अमित अधिकारीका अनुसार सिन्धुपाल्चोकको सुकुटेमा अस्वाभाविक रूपमा ओभरटेक गरेर अघि बढेको गुरुङको समूह अलि अघि पुगेर आराम गरिरहेको थियो ।
फेरि दोस्रो पटक पनि त्यसैगरी ओभरटेक गरेको गुरुङको गाडी पाँचखालको खावा प्रहरी चौकी चेक प्वाइन्टमा रोकिएको थियो । त्यही बेला आइपुगेका चालक अधिकारीले ‘इमर्जेन्सी बत्ती बालेर जथाभावी किन गाडी चलाएको ?’ भन्दै आफूले प्रश्न गरेको थिए ।
त्यति भन्न नपाउँदै ‘म पीएसओ हुँ, पूर्वमन्त्री पार्वत गुरुङको सवारी भइरहेको छ, किन डिस्टर्ब गरेको भन्दै प्रतिप्रश्न गर्दै थिए । यत्तिकैमा गुरुङ आफैं गाडीबाट झरेर मलाई झापड हाने । प्रहरी चौकी अगाडि प्रहरीकै सामुन्ने हातपात हुँदा उनीहरूले रमिता हेरे,’ अधिकारीले भने ।
त्यसपछि उल्टै अधिकारीलाई प्रहरी चौकीमा पठाउन गुरुङले निर्देशन दिएका थिए । त्यस लगत्तै सोधपुछका लागि भन्दै अधिकारीलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाइएको थियो ।
‘गाडीमा दार्इ, भाउजू, भाइ र म गरी चार जना थियौं,’ अधिकारीले भने, ‘परिवारका सबैलाई सोधपुछ गरियो, कहिले मादक पदार्थ सेवन गरेर हो भनेर आरोप लगाएपछि जाँच गर्न पनि हामीले चुनौती दियौं । तर दुर्व्यवहारमा उजुरी दिन खोज्दा भने मिल्नुपर्छ भनेर फर्काइदिए।’
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले भने घटनालाई ढाकछोप गर्न को अधिकारीको भनाइ छ ।
‘त्यस्तो खासै ठूलो घटना भएको होइन, कुनै हातपात भएको छैन, सडकमा गाडी चलाउने क्रममा सामान्य विवाद मात्रै हो, ओभरटेक गर्ने क्रममा सामान्य विवाद भएको रहेछ,’ न्यौपानेले भने।
उनले थपे, ‘सोधपुछका लागि गाडी चालकलाई प्रहरी कार्यालय ल्याइएको हो, सोधपुछपछि फर्काइसकेका छौं ।’ पूर्वमन्त्री गुरुङले भने आफूले ती चालकलाई धकेलेको बताएका छन् । ‘काठमाडौंमा उपचाररत बाबु भेट्न गइरहेकाले’ स्वाभाविक रूपमा इमर्जेन्सी लाइट बालेको उनको भनाइ छ ।
‘किन साइड नदिएको, तिमी को हो भनेर सोधे, डिस्कस् पर्यो,’ उनले भने, ‘पब्लिकलाई जाम गरेर हामी बस्न मिलेन नि, ल जाऊ भाइ तिमी उता भनेर मैले यसो धकेलिदिएँ ।’
स्वयम् आरोपीले धकेलेको भन्दा पनि काभ्रे प्रहरी भने केही होइन भनेर घटना दबाउने प्रयासमा लागेको पीडित पक्षको दाबी छ ।
गुरुङको यस प्रकारको हर्कत विगतमा पनि भइरहेको पाइन्छ । ०७४ को स्थानीय तह निर्वाचनमा भएको विवादलाई लिएर उनले काठमाडौंमा गुन्डागर्दी गराएको आरोप छ ।
गौरीशंकर–१ का वीरध्वज खड्कालाई पिछा गर्दै गुरुङसहितको समूहले काठमाडौं गौशालामा कुटपिट गरेको थियो । सोही आरोपमा उनलाई अदालतले पक्राउ पुर्जी पनि जारी गरेको थियो ।
‘मलाई पिछा गरेर गौशालामा मरणासन्न हुने गरी कुटियो, त्यसबेला पार्वत र उनका सहयोगीले नै कुटेका हुन्,’ खड्का भन्छन्, ‘म साता दिनसम्म जुस मात्र खाएर बाँचेको हुँ । कुटाइका कारण मेरो स्वास्थ्य अहिले पनि कमजोर छ ।’
उनले जिल्ला प्रहरी कार्यालय काठमाडौंमार्फत ज्यान मार्ने उद्योगमा उजुरी गरेका थिए । जिल्ला अदालत दोलखाले गुरुङलाई पक्राउ पुर्जी जारी गरेको थियो । ०७४ को स्थानीय निर्वाचनमा एमाले र माओवादीबीच कटु प्रतिस्पर्धा भए पनि लगत्तै संसदीय निर्वाचनमा दुई दल मिलेपछि आफ्नो मुद्दा कमजोर बनाएको उनको गुनासो छ ।
‘म निम्न आयवर्गको मान्छे परें, पार्टी मिलेपछि दबाब दिएर मुद्दा निष्क्रिय बनाए,’ उनले भने । ०७४ को संसदीय निर्वाचनमा दोलखाबाट एमाले र माओवादी गठबन्धनले जितेको थियो ।
प्रतिनिधिसभामा निर्वाचित गुरुङ, प्रदेशसभामा निर्वाचित पशुपति चौलागाईं र विशाल खड्का खुर्कोटको बाटो हुँदै काठमाडौं आउँदा मन्थली छेउमा गुरुङको गाडी अचानक रोकिएपछि मोटरसाइकल ठोकिएको थियो ।
लगत्तै गाडीमा उत्रिएका गुरुङले मोटरसाइकल चालकलाई कुटेका थिए । तर यो समूह हिँडेपछि मात्र सांसदहरूको टोली हो भन्ने थाहा पाएका र लगत्तै वाम गठबन्धनको सरकार बनेकाले कारबाही गर्न नसकिएको रामेछापका तत्कालीन प्रहरी अधिकारीले बताए । तर, यसैगरी सत्ताको आड पाएका गुरुङले सर्वसाधारणमाथि ज्यादती गर्दा कारबाही नहुँदा नागरिक अधिकार र कानुनको शासनमाथि प्रश्न उठिरहेको छ ।




