
कपिलवस्तुको कृष्णनगरमा ईलाका प्रहरी कार्यालयले स्थानीय समुदायलाई लक्षित गर्दै अवधी भाषामा नागरिक वडापत्र जारी गरेको छ। कार्यालयका प्रमुख इन्स्पेक्टर सुरज खत्रीका अनुसार, कृष्णनगर क्षेत्रका अधिकांश बासिन्दाको मातृभाषा अवधी भएकाले उनीहरूलाई प्रहरी सेवा सम्बन्धी जानकारी सहजै प्रदान गर्ने उद्देश्यले यो निर्णय लिइएको हो।
इन्स्पेक्टर खत्रीले बताएअनुसार, प्रहरी सेवासँग सम्बन्धित जानकारी, सार्वजनिक अपिल, तथा कानुनी प्रक्रियाबारे सचेतना जगाउन नागरिकपत्रलाई अवधी भाषामा रूपान्तरण गरिएको हो। “स्थानीय समुदायका नागरिकलाई आफ्नै भाषामा सेवा दिनु हामी प्रहरीको दायित्व हो। यसले नागरिक र प्रहरीबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास लिएको छ।
कृष्णनगरका बासिन्दाहरूले अवधी भाषामा प्रहरी सूचनाहरू प्राप्त गर्न पाउँदा खुशी व्यक्त गरेका छन्। स्थानीयवासी धेरैलाई नेपाली भाषामा लेखिएका सूचना बुझ्न गाह्रो हुन्थ्यो। अवधीमा लेखिएको नागरिक वडा पत्रले सबैलाई सजिलो हुने भएको छ।”
यस कदमलाई सामाजिक समावेशिता र भाषिक विविधताको सम्मानका रूपमा हेरिएको छ। स्थानीय तहका अन्य निकायहरूले पनि यसबाट प्रेरणा लिएर आफ्ना सूचनाहरू स्थानीय भाषामा जारी गर्न सक्ने अपेक्षा गरिएको छ।
