उत्कर्षमा माधव–झलनाथ विवाद, के पार्टी फुट्ला ?

उत्कर्षमा माधव–झलनाथ विवाद, के पार्टी फुट्ला ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुग्न थालेको छ । पार्टीभित्रको विवादलाई छताछुल्ल पार्दै लगेका सम्मानित नेता झलनाथ खनालले माधव नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनलाई कोत पर्वको संज्ञा नै दिएका थिए । विवाद चरम उत्कर्षमा पुगेपछि माधव नेपालले एमसीसीलाई जोडेर झलनाथ खनालमाथि व्यङ्ग्य कस्न थालेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केही दिनयता पार्टी नेतृत्वमाथि सार्वजनिक आलोचना गरिरहेका छन् । इलामबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएदेखि नै आफूलाई हराएको अभिब्यक्ति दिने गरेका खनालले पछिल्लो पार्टीको पछिल्लो बैठकमा छुट्टै दस्तावेज नै अघि सारे ।

पार्टी अध्यक्ष माधव नेपालले लिने निर्णयमा कडा आपत्ति जनाउने गरेका खनाल पार्टीलाई लुलो बनाउदै लग्न थालिएको भन्दै चिन्ता व्यक्त गरिरहेका हुन्छन् । दुई नेताबीच घोंचपेँचलाई पार्टीभित्रको दुई लाइन संघर्षको रुपमा हेरिएको छ । तत्कालीन नेकपा हुँदा अमेरिकी सहयोग परियोजना एमसीसीको खुब विरोध भयो । त्यसपछि खनाल आफैले पनि संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गराउन भूमिका खेले । एमसीसी पारित भई कार्यान्वयन शुरु भइसक्दा खनालले यसको निरन्तर विरोध गरिरहेका छन् । अमेरिकी सरकार वा एमसीसीले व्याख्यात्मक टिप्पणीमाथि कुनै प्रतिक्रिया नजनाएको भन्दै खनालले आक्रोश पोखिरहेका छन् ।

एमसीसीको विरोध गरिरहेका खनालले माधव नेपालले एकलौटी गरेको आरोप लगाउदै पार्टीमा कोत पर्वको शुरुवात गरेको आरोप नै लगाए । अन्तरपार्टी निर्देशन (अपानी)लाई लिएर चलेको विवादका कारण नै केहि नेताहरुले एकीकृत समाजवादी छाडेको घोषणा समेत गरिसकेका छन् । पार्टीको जनसम्वन्ध कमजोर बनिरहेको देखेका अध्यक्ष नेपालले पनि खनालप्रति कटाक्ष गरेका छन् । एमसीसीको विरोध गरेर क्रान्तिकारी देखिने लहड चलेको भन्दै एमसीसीको विरोध गरेकै भरमा पार्टी ठूलो नहुने उनको दाबी छ ।

नेपालले एमसीसीको विरोध गरेर पार्टी ठूलो नहुने भन्दै नेपाल मजदूृर किसान पार्टी र राष्ट्रिय जनमोर्चाको दृष्टान्तलाई अघि सारेका छन् । तर एमसीसीमाथिको गलफत्तिको वास्तविकता भने फरक देखिन्छ । पार्टीको आन्तरिक विवाद चर्किदै गएको छ भने दुई शीर्ष नेताहरुबीचको घोचपेच उत्कर्षमै पुग्न थालेको छ । पार्टी सचिव रामकुमारी झाँक्रि लगायतका नेताहरुले असन्तुष्टी जनाइरहेका बेला खनालले माधवको प्रवृत्ति चिर्नुपर्ने दाबी गरिरहेका छन् । खनालले एमसीसीको विरोध गरिरहँदा नेपालले १२ बुँदे ब्याख्यात्मक घोषणामार्फत एमसीसीको बचाउ गरिरहेका छन् ।

नेपालले विवाद र विरोध मात्रै गरेर क्रान्तिकारी वा नेता भइहाल्ने अवस्था नरहने सन्देश दिन खोजेपनि यसले कस्तो रुप लिन्छ भन्ने अहिले नै निक्र्योल गर्न गाह्राे छ । नेकपा एसभित्रको विवाद फुटको तहसम्मै पुग्ला कि एमालेमा गएर विसर्जन होला ? यसबारे समेत विवेचना हुन थालेको छ । नेपालले पार्टी भित्रको विवादलाई सत्ता गठबन्धनबाटै निकाल्ने षड्यन्त्रका रुपमा लिएका छन् । समाजवादी मोर्चामार्फत पार्टी एकताका लागि भइरहेको प्रयासलाई रोक्न पनि विभिन्न पक्षहरु लागेको आशंका पनि नेताहरुले गर्न थालेका छन् । यस्ता तमाम प्रश्न अनुत्तरित छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *