पोखरा । माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसस्थित उदय माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम बुधबार भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले गुणस्तरीय शिक्षामा जोड दिए । विद्यालयलाई माछापुच्छ्रे गाउँपालिकाकै नमुना शैक्षिक संस्था बनाउन लाग्नुपर्ने उनको भनाइ थियो ।
उनले गुणस्तर वृद्धिका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने उल्लेख गरे ।
गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले सामुदायिक विद्यालयको वृद्धि विकासमा पालिका सचेत रहेको सुनाउँदै अभिभावकलाई आफ्ना बाबुनानीको पठनपाठनमा ध्यान दिन सुझाव दिए ।
गापा उपाध्यक्ष सीता अधिकारीले मानव विकासका लागि शिक्षा महत्वपूर्ण भएको धारणा राख्दै शिक्षा क्षेत्रको योगदान चिरस्थायी रहने स्पष्ट पारिन् ।
कार्यक्रममा पूर्व विद्यार्थीसमेत रहेकी सिद्धार्थ नगरपालिका रुपन्देहीकी उपप्रमुख उमा अधिकारी, वडाध्यक्ष वैकुण्ठ भण्डारी, पहार ट्रस्ट नेपालका पूर्व अध्यक्ष चन्द्रबहादुर गुरुङ, वडा सदस्य गायत्री भण्डारी, विद्यालयका पूर्व अध्यक्ष रामचन्द्र गुरुङ, गोपीचण्डी परिवारको तर्फबाट क्या. देवबहादुर गुरुङ, भूपू प्रअ कुलबहादुर भण्डारी, समाजसेवी प्रेमबहादुर सुनार लगायतले मन्तव्य राखेका थिइ ।
प्रधानाध्यापक धनबहादुर क्षत्रीले विद्यालयको वार्षिक प्रतिवेदन पेस गर्दै पछिल्ला वर्षहरुमा विद्यार्थी सख्या वृद्धि हुँदै गएको सुनाए । उनले आगामी दिनमा विद्यार्थी, अभिभावक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, कम्प्युटर प्रयोगशालाका लागि दाता खोजी गर्ने, अंग्रेजी तथा प्रविधिमूलक पठनपाठनको माध्यमलाई गुणस्तरीय बनाउन आइसिटी कक्षाको विस्तार गर्नुपर्ने लगायत भावी योजना सुनाए ।
कार्यक्रमका बीच गोपीचण्डी परिवारले असल शिक्षकका रुपमा अमृतकुमार भण्डारी र तेजमाया गुरुङलाई सम्मान गर्यो । पूर्व प्रअ धर्मराज भण्डारीद्वारा स्थापित असल शिक्षक अक्षयकोषबाट अनन्तप्रसाद अधिकारी सम्मानित भए । उनीहरुलाई जनही १० हजार नगदसहित सम्मानपत्र प्रदान गरियो ।
विद्यालयमा अध्ययन गरी हाल निजामती तथा शिक्षा सेवामा सेवारत पूर्व विद्यार्थी साथै राजनीतिक क्षेत्रको उच्च तहमा पुगेका पूर्व विद्यार्थी साथै २०७९ सालको एसइई उत्तीर्ण विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
विद्यालयका अध्यक्ष नरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रअ अनन्तप्रसाद अधिकारीले स्वागत तथा शिक्षक अमृतकुमार भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।