
- अनिल तिवारी
वीरगन्ज। १२ औं उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई रजतको मुकुटले सम्मान गरिएको छ ।
गठबन्धनको सहयोगमा उपनिर्वाचनमा विजयी भएका यादवलाई आइतबार बाराको कलैया उपमहानगरपालिकाका निर्वाचित कार्यकारिणी सदस्य तथा वडा अध्यक्षहरुले २ सय केजी तौलको माला लगाई चाँदीको मुकुट लगाएर सम्मान गरेका थिए ।
सप्तरीले चुनाव जित्नेबित्तिकै राजधानीबाट भागेको र क्षेत्रलाई खासै महत्व नदिने गरेको आरोपलाई मेटाउन नेता यादव अहिले गाउँ–गाउँमा पुगेर मतदाता र शुभेच्छुकलाई धन्यवाद दिइरहेका छन् ।
सम्मान कार्यक्रममा पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव, जसपा मधेस प्रदेश सभापति रामबाबु यादव, नेता रामकिशोर यादवलगायत नेता कार्यकर्ताको समेत सहभागिता रहेको थियो ।
त्यस्तै समाजवादी युवा संघ बाराले पनि विजय यादवलाई प्रतिनिधिसभाको नवनिर्वाचित सदस्यमा सम्मान गरेको छ । कलैयाको समाजवादी युवा संघ बाराका नेता तथा कार्यकर्ताले उनीहरुलाई आइतबार माला लगाएर सम्मान गरेका हुन् ।