काठमाडौँ । मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने चरणमा पुगेको छ । गत नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बीच छ वर्षअघि भएको सम्झौता लागूको चरणमा पुगेको हो । जेठमा भएको एक ‘पूरक सम्झौता’पछि नेपाल सरकारले बेहोर्ने दायित्व छ करोड ७० लाख अमेरिकी डलर थप भइ १९ करोड ७० लाख अमेरिकी डलर पुग्ने देखिएको छ । समग्र परियोजनामा हुने खर्चको अनुमानसमेत ६३ करोड अमेरिकी डलरबाट बढेर ६९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ ।
नेपाली गाडिमाथिको प्रतिबन्ध फुकुवा
नेपाली गाडीमाथि भारतले लगाउँदै आएको प्रतिबन्ध हटेको छ । भारतले दक्षिण सीमावर्ती क्षेत्रमा केही दिनयता विभिन्न कारण देखाउँदै नेपालबाट रक्सौलसम्म जाने नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे गाडीहरुलाई प्रवेश निषेध गरेको थियो । भारतीय कस्टमले जानै पर्ने भएमा त्यस्तो गाडीले विशेष पास लिएर मात्र प्रवेश पाउने व्यवस्था सीमावर्ती गरेको थियो । तर, पछिल्लो पटक भारतीय महावाणिज्य दूतावास तथा भारतीय कस्टमका प्रमुखसँग नेपाली पक्षको छलफलपछि नेपाली गाडीमाथिको प्रतिबन्ध खुलाउन भारत तयार भएको छ । यससँगै अब नेपालबाट भारतको रक्सौल तथा आसपासका क्षेत्रमा नेपाली गाडीहरु निर्बाध जान सक्ने वीरगंज भन्सार कार्यालयले जनाएको छ ।
२४ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरण गरिँदै
नेपाल राष्ट्र बैंकले २४ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । त्यस्तै, थप २ अर्ब रुपैयाँको जारी गर्ने भएको छ । केन्द्रीय बैंकले साउन २३ गते जारी गर्ने २८ दिने, ९१ दिने र १८१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ३६४ दिने ट्रेजरी बिल बिक्री गर्न लागेको छ । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ । उक्त ट्रेजरी बिल क्रमशः भदौ १९ गते, कात्तिक २१ गते र माघ २३ गते परिपक्व राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
वाणिज्य बैंकहरूको नाफा बढ्यो
वाणिज्य बैंकहरूको खुदनाफा २४ दशमलव ९३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ खुदनाफा गरेका हुन् । भने उक्त अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक छ । दोस्रो स्थानामा ग्लोबल आइएमई बैंक छ । त्यस्तै, अघिल्लो वर्ष यसै अवधिमा बैंकहरूले ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ खुदनाफा गरेका थिए। बैंकहरूको खुदनाफा १४ अर्ब रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा छ । त्यस्तै, प्राइम कमर्सियल बैंक र कुमारी बैंक बाहेक अरु सबैको नाफा बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकको दुईवटाको नाफा घटेको छ भने बाँकी १८ बैंकको नाफा बढेको छ ।
एनसेलले बाढीबारे सूचना प्रभावकारी बनाउने
एनसेलले बाढी जोखिमबारे एसएमएसमार्फत गर्दै आएको पूर्वसूचना प्रवाहलाई प्रभावकारी बनाउने जनाएको छ । हरेक वर्ष बाढीे पहिरोसम्बन्धी पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षति न्यूनीकरण गर्न योगदान पु¥याउँदै आइरहेको एनसेलले बताएको छ । बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरूमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिमबारे एसएमएसमार्फत यो वर्ष एनसेलले गत २ महिनामा ४४ लाखभन्दा बढी बाढीसँग सम्भावित जोखिमबारे एसएमएसमार्फत पूर्वसूचना प्रवाह गरेको उल्लेख गरेको छ। यो वर्ष एसएमएसमार्फत् पूर्व सूचना प्रवाह गरिएका क्षेत्रहरूमा नारायणी, कंकाई, बागमती, बबई, राप्ती, कोशी, कर्णालीलगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदायहरू रहेको एनसेलले जनाएको छ ।



