
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले विभिन्न ६ प्रस्ताव पारित गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकबाट समसामयिक विषयमा ६ प्रस्ताव पारित गरिएको हो ।
पारित प्रस्तावमा कोसी प्रदेश सरकार भंंग गरी नयाँ निर्माण प्रक्रिया अपनाउन मागदेखि मिटरब्याजसम्बन्धी विधेयक तत्काल संसद्मा ल्याउनु पर्नेलगायतका विषय समावेश छन् ।
नेकपा (एमाले)को सचिवालय बैठकले पारित गरेका विभिन्न ६ प्रस्तावमा कोशी प्रदेश सरकारको विषय प्रमुख रुपमा उठाइएको छ ।
प्रस्तावमा कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै तत्काल भंग गर्न माग गरिएको छ ।
साथै नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरु गर्न आग्रह गरिएको छ । बैठकले कोशीमा अहिलेको सरकार असंवैधानिक रुपमा गठन भएको निश्कर्ष निकालेर यसलाई भंग गरी नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरु गर्न आग्रह गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले सत्ता गठबन्धन संविधानको उल्लंघन, संवैधानिक संस्थाहरुमा हस्तक्षेप गर्दै लोकतन्त्रलाई जगैदेखि खलबल्याउने काममा उद्दत रहेको निष्कर्ष पनि निकालेको छ ।
प्रस्तावबारे जानकारी दिँदै एमाले उपमहासचिव ज्ञवालीले कोशी प्रदेशसभामा सत्ता पक्षबाट गरिएको संविधान विरोधी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीका रुपमा रहेको बताए ।
कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष पेश गरेको दाबीमा सभामुख बाबुराम गौमतले समेत हस्ताक्षर गरेका थिए ।
सोही हस्ताक्षरसमेत गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
प्रदेश प्रमुखको निर्णयको विरुद्धमा एमालेले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णयहरु नगर्न सरकारलाई आदेश दिएको छ भने यो मुद्दामा ७ साउनदेखि निरन्तर सुनुवाइ हुने भनिएको छ ।
एमालेको केन्द्रीय सचिवालय बैठकले पनि सरकार गठनमा सभामुखको संलग्नता लोकतान्त्रिक र संसदीय अभ्यासमाथिकै प्रहार ठहर गरेको छ ।
यस्तै, केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य गुरु बराललाई एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली विदेश भ्रमण जाने विषयमा समेत जानकारी गराइएको थियो । जसअनुसार अध्यक्ष ओली मंगलबार कम्बोडिया जाने छन् ।
ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेका हुन् । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार भ्रमणका क्रममा ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको छ ।