एमालेको अवरोधले मिटरब्याजीलाई राहत, माओवादीको काउन्टर जवाफ

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु नपर्ने

सत्ता गठबन्धनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निश्कर्ष निकालेको छ । बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले कुनैबेलाको प्रसंगमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको निस्कर्ष गठबन्धनको रहेको बताए । यस्तै, बैठकले मिटरब्याजविरुद्ध सम्बन्धीको अध्यादेशमा रहेको समस्याका बारेमा गठबन्धन दलबीच छलफल गरी चाँडै नै संसदबाट पास निर्णय भएकोसमेत उनले जानकारी दिए । बैठकले मिटरव्याजीको आरोप लागेकाहरुमाथि सुष्म अध्ययन गर्ने र दोषि उम्कन नपाउने गरि काम गर्ने निश्कर्ष समेत निकालेको छ । ऋणको कारोबारी सबै मिटरव्याजी नहुन सक्ने भन्दै यसबारे गहिराइमा रहेर अध्ययन गरिने उपाध्यक्ष पाण्डेले जानकारी दिए ।

जिल्ला सभापतिहरुका गुनासो नै गुनासो

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको गतिविधिहरु शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । बिहीवारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरुको बैठकमा बोल्ने सभापतिहरुले पार्टीको गतिविधिहरुमा शिथिलता आउन थालेको धारणा राखेका हुन् । उनीहरुले पार्टी गतिविधिमा शिथिलता आएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आ–आफ्नो धारणा राख्ने क्रममा सभापतिहरुले पार्टीलाई पुनःजागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । बैठकमा सरकारमा मन्त्री रहेका सभापतिहरुले आफूले सरकारमा भोगिरहेको अपm्ठ्याराहरुको बारेमा कुरा राखेका थिए भने सरकारमा नभएका जिल्ला सभापतिहरुले सरकारसँग आफुहरुको कुनै समन्वय नभएको गुनासो गरे । जिल्ला सभापतिहरुको बैठकमा क्रियाशील सदस्यता र काँग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषयमा समेत सामान्य छलफल भएको छ । त्यस्तै पार्टीले विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषय माथि पनि बैठकमा छलफल हुनेछ । बैठक शुक्रबार सम्पन्न हुनेछ ।

एमालेको अवरोधले बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले विरोध जनाएपछि बिहीबार पनि राष्ट्रियसभाको बैठक स्थागित गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिविरुद्ध एमालेले संसदमा अवरोध गरेपछि बैठक स्थगित गरिएको हो । बैठकको सुरूमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएका कारण प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे । प्रधानमन्त्रीका कारण नेपालीको शीर निहुरेको भन्दै अहिलेको अवस्थामा सभाको कामकारबाही अघि बढ्न नसक्ने उनको जिकिर छ । एमाले सांसदको विरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीलाई सभामा आएर जवाफ दिने वातावरण बनाउन आग्रह गरे । तर, एमाले सांसदहरूले निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सनाले बैठक स्थगित गर्दै अर्को बैठक शुक्रबारलाई बोलाएका छन् ।

प्रधानमन्त्रीको बचाउमा विज्ञप्ति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भावनात्मक रुपमा दिएको अभिव्यक्तिलाई अपव्याख्या गरिएकोप्रति असन्तुष्टि जनाएको छ । एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिले प्रचण्डको चौतर्फी आलोचना भइरहेका बेला उनको सचिवालयले विहिबार असन्तुष्टि जनाएको हो । संसदमा स्पष्टीकरणको मौका समेत नदिई एकपक्षीय प्रचार गरेको प्रचण्डको सचिवालयको दुखेसो छ । सोमबार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले एकपटक आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै पटक दिल्ली गएको बताएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गरिरहेको छ । एमालेले प्रधानमन्त्रीको राजीनामा समेत मागेको छ । प्रतिपक्षी एमालेले अभिव्यक्तिको विषयलाई संसद अवरोधको आधार बनाइरहँदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपव्याख्या गरिएको बताए । माओवादी शान्ति प्रक्रियामा आएसँगै प्रचण्डसँग सरदार प्रितम सिंहको भेटघाट÷चिनजान भएको र २०६७÷६८ सालमा प्रचण्डकी जेठी छोरी ज्ञानुको उपचार गर्ने क्रममा दिल्लीस्थित घरमा बसेकाले प्रचण्ड र प्रितमको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिक समेत भएको प्रचण्डको सचिवालयको तर्क छ ।

एमालेलाई माओवादीको काउन्टर जवाफ

नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेबाट भ्रामक प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । माओवादी प्रवक्ता कृष्णबहादुर महराले विहिबार जारी गरेको एक विज्ञप्तिमा प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु एमालेको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको टिप्पणी गरिएको छ । ‘मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटकपटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानविन र फाइल खोल्दा गैरजिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन् भन्दै विज्ञप्ति मार्फत नै एमाले अध्यक्ष केपी ओलीलाई जवाफ समेत दिइएको छ ।

एमालेको अवरोधले मिटरव्याजीलाई राहत

प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएको छ । गएको वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले ल्याएको अध्यादेश जारी गरेका थिए । मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्न ल्याइएको उक्त विधेयक ६० दिनभित्र संसद्बाट पारित भइसक्नु पर्ने कानूनी प्रावधान छ । तर बुधबारदेखि नेकपा एमालेसहित प्रतिपक्षी दलको अवरोधका कारण सदन बस्न सकेन । प्रतिनिधिसभा बैठक नै नबसेपछि अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा पेस भएको ६० दिनको अवधिमा प्रतिस्थापन पारित नभएका कारण बुधबारदेखि अध्यादेश निष्क्रिय भएको छ । अध्यादेश निष्क्रिय भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफू यसकारण आहात भएको बताएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट साझा गर्दै उनले पीडितलाई न्याय दिलाउने अभियानलाई असफल पार्नु खोजिएपनि न्याय दिलाइ छाड्ने समेत बताएका छन् ।

मलका लागि ऐन संशोधन आवश्यक : मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन् । अर्थ समितिको बिहीवार बसेको बैठकमा बोल्दै उनले यस्तो आवश्यकता औल्याएका हुन् । उनले रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव अघि बढाएको समेत बताए । जिटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जिटुजीका लागि बजेटको अग्रिम सुनिश्चिततालाई जोड दिन आवश्यक रहेको उनको भनाई छ । छोटो समयमा नै मल खरिद गरी समयमा नै किसानलाई आपूर्ति गर्ने व्यवस्था गर्नुपर्नेमा समेत उनले जोड दिए । उनले रासायनिक मलमा मात्रै निर्भर नभइ प्राङ्गारिक र जैविक मलमा निर्भर हुनेकुरामा जोड दिन आवश्यक रहेको समेत बताए ।

जनस्वास्थ्यमा ध्यान पुर्याऔं : सांसद श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रासायनिक मलका कारण प्रकृतिमा असर परिरहेकाले असर न्युनिकरणकालागि पहल गर्नु पर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । रासयनिक मलले गर्दा जल, जमिन र वायुलाई संक्रमण गरिरहेकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा सरकारले सोच्न आवश्यक रहेको उनको भनाई छ । रासयनिक मलको प्रयोगका कारण जनस्वास्थ्यमा परेको असर, जनस्वास्थ्यको संवेदनशीलतामा ध्यान दिन समेत उनले आग्रह गरे । यस्तै, दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरुले गर्दा बालबालिकाहरुमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको अध्ययनले देखाएको समेत उनले जानकारी गराए । सांसद श्रेष्ठले माटोको गुणस्तर खस्किँदै गएकाले नेपालमा खाद्यान्न संकट निम्तिरहेको तर्फ समेत ध्यानाकर्षण गराए ।

कुटपिटमा उत्रेका वकिल र अदालतका कर्मचारीबीच सहमति

जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङमाथि कुटपिट भएपछि आन्दोलित बनेका अदालतका कर्मचारी र वकिलहरुबीच सहमति भएको छ। जिल्ला अदालत ललितपुर र ललितपुर बार एशोसिएशनका तर्फबाट गठित वार्ता समितिले ७ बुँदे सहमति गर्दै आन्दोलन पनि विहिबारबाट नै स्थगित गरेको हो । अदालतमा सेवा लेनदेनका क्रममा भएको घटनापछि दुवैतर्फबाट विषयान्तर भएको भन्दै सहमति जुटेको हो । उनीहरुले सहमतिपछि जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई लिएर अब उप्रान्त दुवै पक्षले द्वेषभाव नराखी विवादलाई अन्त्य गर्ने उल्लेख छ । अदालतकी नायब सुब्बा तामाङमाथि कुटपिट आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका थिए । उनलाई केही दिन ललितपुर प्रहरी परिसरको हिरासतमा राखेर साधारण तारेखमा रिहा गरिएको थियो ।

लत्रिएको तारबाट करेन्ट लाग्दा दुई जनाको मृत्यु

गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको छ । सल्यानमा भएको यो घटनामा परि मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगी रहेको प्रहरीले जनाएको छ । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो । बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उक्त घटनामा बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top