एमालेमा ओलीको सर्वसत्तावाद अस्वीकृत, प्रदेशमै देखियो गुटबन्दी

एमालेमा ओलीको सर्वसत्तावाद अस्वीकृत, प्रदेशमै देखियो गुटबन्दी

  • प्रकाश न्यौपाने

रुपन्देही । तत्कालिन नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिएर एमालेमै फर्किएपछि पनि पार्टीमा पुरानै गुटबन्दी कायमै थियो । एमालेबाट माधव नेपाल र झलनाथ खनाल नै बाहिरिएपछि केपी ओलीको एकाधिकार रहन थाल्यो । पार्टीमा ओलीको सर्वसत्तावाद कायम रहे पनि चुइँक्क बोल्ने आँट कसैको छैन । त्यसैले एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा सहमति कायम गर्न ओलीले निर्देशन दिएका थिए । तर पहिलो अधिवेशनमै एमालेमा सहमति जुटेन । पहिलो अधिवेशनबाट नै पार्टीमा नयाँ गुट देखा पर्यो ।

नेकपा एमालेको पहिलो प्रदेश अधिवेशन लुम्बिनीले सम्पन्न गर्यो । तर बुटवमा भएको पहिलो अधिवेशनबाट नै एमालेमा ओलीको सर्वसत्तावाद अस्वीकार्य छ भन्ने सन्देश दियो । प्रदेश अधिवेशन उदघाटन समारोहमा पुगेका ओलीले सहमति नै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । ओलीको निर्देशन अनुसार केन्द्रीय नेताहरु नै सहमतिको पहलमा जुटे तर प्रयास सफल भएन । अन्ततः विष्णु पौडेल समूह र शंकर पोखरेल समूह नै बनेर खुला रुपमै चुनावी प्रतिपर्धामा उत्रिए । चुनावमा पौडेल पक्षका राधाकृष्ण कण्डेलले पोखरेल पक्षका प्युठानका हरी रिजाललाई मात्र २ मत अन्तरले पराजित गरे ।

चुनावी प्रतिष्पर्धामा निर्वाचितमध्ये पुरुषतर्फको उपसचिवमा मात्रै पोखरेल पक्षका रोल्पाका पूर्ण बुढामगर निर्वाचित भएका छन् । प्रदेशका १२ जिल्लाबाट १ हजार ४ प्रतिनिधि सहभागी भएकोमा ९ सय ६५ जनाले मतदान गरेका थिए । चुनावी प्रतिष्पर्धाबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, महिला उपसचिवमा बर्दियाकी लिला राना मगर निर्वाचित भए भने सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए । एमालेको २ सय ५ सदस्यीय लुम्बिनी प्रदेश कमिटीमा निर्वाचित बहुमत सदस्य पौडेल समुहका कँडेल टिमबाट छन् । निर्वाचित भएपछि कँडेलले आफू पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट निर्वाचित भएकोले अब पार्टीमा अर्को कुनै समूह नरहेको बताएका छन् ।

प्रदेश अधिवेशनबाट भएको निर्वाचनलाई एमाले नेताहरुले आन्तरिक प्रतिष्पर्धा भएकोले जितहार स्वाभाविक भएको बताएका छन् ।

लेखा समिति अध्यक्षमा कँडेल समूहकै दामोदर घिमिरे विजयी भए भने उपाध्यक्षमा बैकुण्ठ महत निर्विरोध निर्वचित भए । अधिवेशनबाट पदाधिकारीमा सचिव आचार्यसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए भने पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको थियो । पहिलो प्रदेश अधिवेशनबाट नै एमालेमा पार्टीभित्रको गुटबन्दी खडा भएको छ । यसको प्रभाव अन्य प्रदेशमा मात्र होइन, केन्द्रसम्म नै पर्ने निश्चित छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *