एमालेले घेराउ गरेपछि माओवादीको जवाफ- ‘संसदमा आफ्नो कुरा राख्न पाइन्छ’

एमालेले घेराउ गरेपछि माओवादीको जवाफ- ‘संसदमा आफ्नो कुरा राख्न पाइन्छ’

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाउने आफूहरुकोे अधिकार रहेको बताएका छन् ।

आज शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफ्ना अध्यक्ष केपी ओलीलाई भ्रष्टाचारी भनेको भन्दै संसद बैठक नै अवरुद्ध गरेको छ । बुधवारको प्रतिनिधि सभाको बैठकमा दाहालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएर एमालेले आज संसद बैठक अवरुद्ध गरेपछि माओवादीका प्रमुख सचेतक पाण्डेले जवाफ दिएका हुन् ।

पाण्डेले संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्ष दलले यस्ता विषवस्तु उठाएर बैठक नै अवरुद्ध गर्न नहुने बताए । उनले सार्वभौम संसदमा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै संसदलाई व्यवस्थित रुपमा लैजानुपर्नेमा जोड दिए ।

‘हामी यो संसदमा छौँ, संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा गरिरहेका छौँ,’ पाण्डेले भने, ‘हामीले यही संसदलाई अघि बढाउने, आफ्ना कुरा संसदमा राख्ने भन्यौँ, त्यही अनुसार कुरा गरिसकेपछि अहिले जुन खालको विषयवस्तु गरिएको छ, प्रमुख प्रतिपक्ष दलमा यो सार्वभौम संसद हो, सार्वभौम संसदमा बोल्न, विषयवस्तु राख्न पाइन्छ । आफ्ना आफ्ना कुरा राख्न मिल्छन् । यसलाई व्यवस्थित रुपमा लगियोस् । यो देशमा अहिले जसरी भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार भइरहेका विषयवस्तुहरुलाई छानबिन गर्नुपर्छ ।’

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरुले सरकारविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका छन् । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद चल्न नदिने अडान लिएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *