काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक विभिन्न निर्णय गर्दै टुंगिएको छ ।
एमालेले पाँचौं केन्द्रीय कमिटी बैठकले माओवादी लडाकु शिविरको छानविनदेखि सार्वजनिक भएका विभिन्न काण्डमा स्वतन्त्र छानविनको माग गरेको छ ।
झापामा गर्ने भनिएको एमालेको पाँचौं केन्द्रीय कमिटी बैठक काठमाडौं मै सम्पन्न भयो । एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा गर्ने भनिएको कार्यक्रम अन्तिममा काठमाडौंमै गरिएपनि यसबारे विभिन्न कोणबाट विषयहरु सार्वजनिक भए ।
संघीयता खारेजीदेखि मिसन ग्रासरुटको विषयमा छलफल गरेको एमालेले लगातार तीन केन्द्रीय कमिटी बैठकमा अनुपस्थित हुने नेतालाई कारबाही गर्ने बताएको छ ।
व्यापारिक घरानालाई बजेट निर्माणमा संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै आपत्ति जनाएको एमालेले लडाकु शिविरको छानविनको माग गरेको छ ।
लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दै यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास एमालेको छ । यस्तै, संघीयताको विषयमा बहस भएको भन्दै आएका समाचारहरु अध्यक्ष ओलीले खारेज गरेको दाबी छ ।
पार्टी निर्णय भन्दा बाहिर गएर नबोल्न निर्देशन जारी गरिएको उपप्रमुख रिजालको दाबी छ । यस्तै, प्रचार विभाग प्रमुख पृ्थ्वीसुब्बा गुरुङले राष्ट्रिय हीत र स्वाभिमानको रक्षा गर्न राजनीतिक दलहरुबीच न्यूनतम समझदारी कायम गर्ने बताएका छन् ।
एमालेको १६ बुँदे प्रस्ताव पारित गर्दै लडाकु शिविर घोटाला काण्डदेखि सबै सार्वजनिक काण्डहरुमा निष्पक्ष छानविनको माग समेत गरेको छ ।
एमाले सचिव समेत रहेका टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा फरार रहेपछि एमालेभित्र परेको दबाबलाई सहजै पार लगाएको एमालेले भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्रता दिने भन्दै निर्णय गरेपनि कार्यान्वयनको पक्ष कस्तो रहन्छ त्यो भने हेर्न बाँकी नै छ ।