
काठमाडौं ।। सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्यामा संलग्न नेकपा एमालेकी सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् ।
नेपाल प्रहरीले कोइरी फरार अभियुक्त भएको भन्दै दोस्रो पत्र पठाएपछि सभामुख घिमिरेले मंगलबार सांसद पदबाट निलम्बन गरेका हुन् । कोइरी मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट महोत्तरी–१ बाट सांसद बनेका थिए ।
मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या गरेको अभियोग लागेका कोइरीलाई जनकपुर उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतले थुनामा राख्न आदेश दिए पनि कोइरी त्यसयता फरार छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक विश्वासको मत लिँदै गर्दा प्रतिनिधिसभामा देखिएकी नेकपा एमालेकी सांसद लक्ष्मी महतो कोइरी त्यसयता कुनै पनि बैठकमा गएकी छैनन् ।