
उत्तमकुमार थापा
थलारा गाँउपालिकाले एम्बुलेन्स खरिद नगर्दै मर्मत सम्भार खर्च छुट्याएपछि चौतर्फी आलोचना भइरहेको छ । केहि दिनअघि सार्वजनिक भएको थलारा गाउँपालिकाको परियोजना तथा कार्यक्रम अनुसार आर्थिक बर्ष २०७९-८० का लागि एम्बुलेन्स मर्मत तथा सम्भार खर्च शिर्षकमा ५ लाख ७५ हजार विनियोजन गरिएको छ ।
एम्बुलेन्स नहुँदै मर्मत खर्च छुटाएको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ । गाउँपालिकामा हाल सम्म एम्बुलेन्स नभएको र एम्बुलेन्स मर्मतका नाममा आर्थिक अनियमितता गर्न खोजेको स्थानीयले आरोप लगाएका छन् ।
स्थानीय गौतम कुमार विष्टले अहिलेसम्म गाँउपालिकामा एम्बुलेन्स नभएको र मर्मतका लागि किन बजेट विनियोन गरियो भनेर सोध्न खोज्दा जनप्रतिनिधिले जवाफ नदिएको बताएका छन् । सामाजिक सञ्जालमा विष्टले गाँउपालिकाका जनप्रतिनिधिहरुसँग विभिन्न माध्यमबाट जानकारी लिन र बुझ्न खोजेको तर जवाफ नआएको गुनासो गरेका छन् ।
यस विषयमा थलारा गाउँपालिकाका उपाध्यक्ष रामबहादुर खातीले सामाजिक सञ्जालमा गलत अफवाह फैलाएको बताउनुभएको छ । थलारा गाउँपालिकाले ६ महिनाअघि नै एम्बुलेन्स खरिद प्रक्रियामा गए पनि अहिलेसम्म आईनपुगेको सत्य भएको बताउँदै सामाजिक सञ्जालमा भ्रष्टाचार गर्न खोजेको भन्ने आसय गलत रहेको बताउनुभयो । तर ६ महिना वितिसक्दा पनि एम्बुलेन्स अझैसम्म आएको छैन । यता प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितलाई टेलिफोन गर्दा ठेकेदारले पैशा लिएकाे ९ महिना हुदा पनि एम्बुलेन्स गाउँपालीकामा नआएको र अवकाे २ हप्तामा एम्बुलेन्स गाउँपालीकामा आउने बताए ।
एम्बुलेन्स आकस्मिक विरामीका लागि प्रयोग हुने र मेसनरी वस्तु भएकाले बेला बेला बिग्रन सक्ने सम्भावना भएकाले मर्मत सम्भारमा ढिला नहोस् भनेर उक्त शिर्षकमा बजेट विनियोजन गरेको भन्दै पन्छिनुभएको छ ।