एसइईमा करिब ५ लाख परीक्षार्थी

एसइईमा करिब ५ लाख परीक्षार्थी

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा देशभरबाट करिब ५ लाख विद्यार्थी सम्मिलित हुँदैछन् । यही चैत १५ देखि २७ सम्म हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनायो ।

गण्डकीबाट करिब ४१ हजार जनाले परीक्षा दिने शिक्षा विकास निर्देशनालय गण्डकीका निर्देशक अम्बिका आचार्यले बताए । देशभर कुल २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएकोमा गण्डकीमा २ सय १४ केन्द्र तोकिएको छ । गत वर्ष तुलनामा यसपालि गण्डकीमा परीक्षा केन्द्र घटेका हुन् । सयभन्दा कम परीक्षार्थी रहेका ९ परीक्षा केन्द्र घटाइएको हो । जापानमा यस वर्ष पनि एउटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । नेपाल बाहिर जापानमा बसेका २३ जना नेपाली विद्यार्थीले जापानबाटै परीक्षा दिन पाउने व्यवस्था मिलाएको राष्ट्रिय परीक्षा बोर्डले जनायो ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षाका लागि बोर्डले ५ लाख प्रश्नपत्र छापिसकेको बताए । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार ५ लाख ४ हजार ४ सय १४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको संख्या घट्न सक्ने छन् ।

चैत १५ देखि सुरु हुने परीक्षामा देशभर २०५७ परीक्षा केन्द्र तोकिएकोमा गण्डकीमा २१४

पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौँ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिए । ‘प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइनेछ,’ उनले भने ।

परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको बताए । उनका अनुसार आवश्यक बजेट ७ वटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ ।

प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष १÷१, ३ सय विद्यार्थी रहेको केन्द्रमा २ सहायक केन्द्राध्यक्ष, २ विद्यार्थी बराबर १ निरीक्षक, १ सय ५० देखि २ सयसम्म परीक्षार्थी भएकोमा १ सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा २ सहयोगी खटाइने उनको भनाइ छ । परीक्षा केन्द्रको आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरेको थियो । यस वर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागु गरेको जनाएको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसइई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक पौडेलले बताए । परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने भन्दै १ सय पूर्णांक रहेको विषयमा ३५ अंक र ७५ पूर्णांक रहेको विषयमा २७ अंक ल्याउनुपर्ने उनले बताए । परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनु पर्नेछ ।

३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष २ विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको । विद्यार्थीले ३ पटकसम्म २ विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।
परीक्षाका लागि गण्डकीमा पनि आवश्यक तयारी पूरा भएको गण्डकीका निर्देशक आचार्यले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *