
ओखलढुंगा । सहज आम्दानी र एक पटक लगाएपछि केहि वर्षसम्म उत्पादन दिने किवी खेतितर्फ ओखलढु्गाका किसानहरु आकर्षित बन्दै गएका छन् । केहि वर्ष अघिसम्म जिल्लाका तल्लो क्षेत्रमा फाट्फुट देखिने किवी अहिले भने माथिल्लो भेगमा पनि देख्न सकिन्छ । सुरुवातमा नमुनाका लागि २ चारवटा विरुवा रोपेका किसानहरुले अहिले ब्यवसायिक रुपमै यसको खेती सुरु गरेका छन, तर उत्पादन भएको किवीले बजार पबउँदैन कि भन्ने पीरलो किसानमा व्याप्त छ ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ मानेडाँडा बिब्लाटेका निमानुरी शेर्पाले झन्डै १५ रोपनी क्षेत्रफलमा किवी खेती गरेका छन् । बैदेशिक रोजगारीको शिलशिलामा १० बर्ष मलेशिया बसेका उनले ३ बर्ष अघि स्वदेश फकिएर आफ्नै भूमिमा केही गर्नुपर्छ भनेर किवी खेती सुरु गरेको बताए । सुरुमा युट्युब र विभिन्न सामाजिक सञ्जाल मार्फत किवी खेतीको सम्भाब्यता र खेतीबारे आवश्यक ज्ञान हासिल गरेका उनले पहिलो पटक रामेछापको एक नर्सरीबाट झन्डै १ सय ४० बोट विरुवा ल्याएर यसको खेती सुरु गरेका थिए । स्थानीय सरकार र कृषी ज्ञान केन्द्रको ६ लाख ७५ हजार अनुदान समेत गरी १५ लाख लगानी गरेर उनले किवी खेती गरिरहेका छन । तर, गत वर्षभन्दा यो वर्ष निकै राम्रो फल लागेकाले आम्दानी पनि राम्रै हुने अपेक्षा गरेका उनलाई उत्पादन भएको किबी बिक्री नहुने होकी ? भन्ने चिन्ता छ ।
यता, सिद्धिचरण नगरपालिका ११ का चित्रकुमार श्रेष्ठले पनि ३ वर्षअघिबाट झन्डै ४० रोपनी क्षेत्रफलमा किवी खेति गरिरहेका छन । यसअघि मकै र आलु खेति गरिहका उनले ४ सय भन्दाबढी किवीको बिरुबा रोपेका छन । कृषि ज्ञान केन्द्रको ३ लाख अनुदान र आफ्नो झन्डै २० लाख रुपैयाँ लगानी गरेका उनले बजारीकरणमा भने समस्या देखिएको बताउछन् ।
जिल्लाका झन्डै १ दर्जन कृषकले किवीको ब्यवसायिक खेती गरिरहेका छन । कृषकहरुलाई यसको ब्यवसायिक रुपमै खेती गर्न कृषि ज्ञान केन्द्र ओखलढुंगाले पनि अनुदानका साथै विभिन्न प्राविधिक सहयोग गरिरहेको छ ।
जिल्लामा मनग्गै किवी उत्पादन गर्न थालिएको भएपनि उत्पादित किवीले बजार र उचित मूल्य भने नपाएको कृषकहरुको गुनासो छ ।