ओलीकाे प्रतिवाद गर्दै संसदमा माधव नेपालले भने- ‘आफ्नो पीडा र व्यथा मात्रै पोखेर हुँदैन’

ओलीकाे प्रतिवाद गर्दै संसदमा माधव नेपालले भने- ‘आफ्नो पीडा र व्यथा मात्रै पोखेर हुँदैन’

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीलाई इंगित गर्दै अध्यक्ष नेपालले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताए ।

आईतबार एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम स्वीकार गर्न नसकिने अडानसहित चर्को आलोचना गरेका थिए । सोमबार (आज) अध्यक्ष नेपालले ओलीको सो अभिव्यक्ति अरुलाई घोचपेच हुने गरी आएको भन्दै प्रतिवाद गरे । ओली आफू सरकारमा रहन नसक्नुको पीडामा रहेको भन्दै उनले यसको कारणबारे पनि अरुलाई दोष नदिन ओलीलाई सचेत गराए ।

अध्यक्ष नेपालले ओलीले आफ्नो सम्बोधनमा अरुलाई सत्तोसराप गरेको र आफ्नो कमजोरी भने स्विकार नगरेको आरोप लगाए । ओलीमा व्यक्तिवाद रहेको र त्यो सबैभन्दा ठूलो समस्या रहेको पनि उनले बताए ।

‘यो देशलाई बनाउन सकिन्छ । त्यसका लागि हामीहरुबीच सहकार्यको आवश्यक्ता छ । एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन । आफ्नो पीडा, व्यथा पोखेर मात्रै हुँदैन,’ नेपालले भने, ‘सरकारमा बस्न सकिएन । त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन, त्यसको पछाडि पनि अरुलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको निम्ति अरुलाई सत्तोसराप गरेर पनि हुँदैन । त्यसो हुनाले सबभन्दा ठूलो समस्या के छ भने आफू भित्र के कमीकमजोरी रहेँ । त्यसको हामी सबैले समिक्षा गरांै । कमीकमजारी भएका छन भने ती कमीकमजोरीको पहिचान गरौं । त्यसलाई सुधार गरौं । अहिले म समस्या देखिराखेको छु । हामी कहाँ सबभन्दा ठूलो समस्या यो व्यक्तिवादको रोग हो । र, दोस्रो भनेको आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो । अनि, तेस्रो अरुलाई अवमूल्यन गर्ने प्रवृत्ति हो । अरुको ज्ञान, अरुको बुद्धि र सबैको साथ लिने भन्दा पनि अनि आफ्नो पाराले चल्ने प्रवृत्ति पनि हो । यसबाट मुक्त हुन सकिएन भने, यो व्यक्तिवादको रोगबाट मुक्त हुन सकिएन भने अनि भ्रष्टाचारबाट चुर्लम्म डुब्ने प्रवृत्तिबाट मुक्त भईएन भने कुरा एउटा, काम अर्को हुन्छ ।’

अध्यक्ष नेपालले भ्रष्टचारको जालोलाई तोडने काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव पनि दिएका छन् । उनले भने, ‘म सभामुखजीमार्फत् प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु–तपाई इमान्दारिताका साथ अगाडि बढनोस् । लगनशीलताका साथ अगाडि बढनोस् । र, यो भ्रष्टाचारको जालोलाई तोडने काम गर्नु होस । स्वच्छ सरकार यो देशलाई प्रदान गर्नुहोस । गतिशील सरकार यो देशलाई प्रदान गर्नुहोस । र, काममा इमान्दारसाथ खटनेहरु र काम ठगहरु अनि सत्ताको दूरुपयोग गर्न खोज्नेहरु को–को हुुन, त्यसको पहिचान गरेर खराव तत्वहरुलाई दण्डित गर्नुहोस् । असलहरुलाई प्रोत्साहित गर्ने काम गर्नुहोस् । ’

अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको भन्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *