काठमाडौँ । लुम्बिनी प्रदेशको अधिवेशन लुम्बिनीको बुटवलमा जारी छ । एमाले शीर्ष नेताहरुले खचाखच रहेको अधिवेशन हल अध्यक्ष केपी ओलीको रक्षा, विपक्षीमाथि हमला र नेताहरुबीच विवाद नरहेको भाष्य स्थापितका लागि उद्यत देखियो । पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्वको होड सामान्य भएपनि प्रतिद्वन्द्धि नै भनिएकाहरुले ओलीलाई साक्षी राखेर गरेको कबुलले एमालेभित्रको आन्तरिक लोकतन्त्र र विधि विधानको अवस्था सवल रहेको ठान्न सकिएला त ?
लुम्बिनी प्रदेशसभा अधिवेशन कस्तो हुने र यसको चरित्र के हो भन्नेबारे अध्यक्ष केपी ओलीले शनिबार निर्देशनात्मक भाषण गरे । ओलीको भाषण अघि बोलेका भावी नेतृत्वको आकांक्षी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको लडाई नै केन्द्रमा रह्यो । नेतृत्वको तयारीका लागि जुटेका उनीहरु प्रदेशदेखि नै आफू निकटको नेतृत्व तयार पार्न खोज्नु सामान्य पनि हो । एमालेको १० औं महाधिवेशनमा जस्तो ओलीले भनेका मान्छेहरु निर्वाचित हुने अवस्था नरहने पक्का जस्तै छ । यसकारण पनि पौडेल र पोखरेल भावी नेतृत्वका लागि आन्तरिक प्रतिष्पर्धामा छन् । तर, दुबै नेताहरुले आफूहरुबीच कुनै विवाद नरहेको र एमाले विरोधी शक्तिले यस्तो हल्ला चलाएको दाबि गरिरहेका छन् ।
केपी ओली निकट बन्न जो सक्छ त्यसैले सहजै नेतृत्वको दाबीमा बलियो स्थान राख्न सक्छ भन्ने मानसिकता एमालेमा सर्वमान्य जस्तो देखिन्छ । लुम्बिनीको अधिवेशनकै लागि चीन भ्रमणको समय साँझ पारेका पोखरेल त्यहाँ नगई हुँदैनथ्यो । लुम्बिनीमा विवाद नरहेको दाबी गर्दै पोखरेलले माओवादीमाथि हमला गरे । तर, पौडेलले ओलीको विकल्प खोज्न नसकिने र ओलीको नेतृत्वमा मिसन २०८४ बनाएर एमाले अघि सरेको दाबी नै गरे ।
अध्यक्षका दावेदार दुई नेताहरुको यस्तो भाषणले मख्ख ओली भने विवादमा छिरेनन् । बरु उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणदेखि विभिन्न विषयमा टिप्पणी गरे । त्यसपछि एमालेले अधिवेशनका लागि अधिवेशन नगर्ने दाबी समेत गरे ।
ओलीले अधिवेशन अधिवेशन जस्तो हुने दाबी गर्दै गर्दा उनले गएको महाधिवेशनको जस्तो हुने वा निर्वाचन पनि हुने भन्ने विषय भने खुलाएनन् । तर, नेतृत्वको दाबी गर्नेहरुले नै ओलीलाई निर्विकल्प नेता ठानेपछि उमेरहद समेत गायब भएको अर्थमा ओलीदेखि अन्य नेता कार्यकर्ताले बुझेको देखिन्छ । पौडेल र पोखरेल दुबै ओलीबाट मौका पाउने नेताहरुमा पर्छन् । तत्कालीन नेकपाको समयमा पनि महासचिव ईश्वर पोखरेललाई पाखा लगाउदै ओलीले पौडेललाई महासचिव बनाइदिए । त्यसपछि ओलीले पोखरेललाई फेरि महासचिव बनाइदिए । यसरी ओलीकै आशिर्वादबाट नेतृत्वमा आएका उनीहरुले लुम्बिनीबाट ओलीको विकल्प खोज्न नसकिने सन्देश दिएका छन् । उसोतः एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय राजनीतिमा आउने चर्चा छ । पार्टी नेतृत्व नै लिने गरि भण्डारी आउने चर्चाले चिढिएका ओलीलाई नेताहरुले लुम्बिनीबाट दिएको सन्देशले एमालेको राजनीतिमा ठूलो अर्थ राख्ने विश्लेषण भइरहेको छ ।




