यो जिपिए आधारमा उनीहरु नेपाल टप नै भएको विद्यालयको दाबी छ । प्लस टु इन्चार्ज नारायणप्रसाद आचार्य भन्छन्, ‘हामीहरुले देशभरका अन्य अब्बल विद्यालयको नतिजा पनि बुझ्यौं, अरुको पनि सर्वाधिक ३.९६ भन्दा बढी देखिएन ।’
त्यसो त हालसम्म प्राप्त जानकारीअनुसार काठमाडौंको ट्रिनिटी र बुटवलको अक्सफोर्डका विद्यार्थीले पनि मदरल्याण्डको समान ३.९६ जिपिए ल्याएको सार्वजनिक भएको छ ।
नेपाल टपेका मदरल्याण्डका जीवन र कृतिका पढाइ अलावा अतिरिक्त क्रियाकलापमा पनि सधैं प्रथम हुने गरेको प्लस टु इन्चार्ज आचार्यले बताए । विद्यालयमा उचित शैक्षिक वातावरणसँगै शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय मेहनतले उत्कृष्ट नतिजा आएकोमा आफूलाई खुसी लागेको संस्थापक प्राचार्य नारायण बराल बताउँछन् । विज्ञान र व्यवस्थापन संकाय पढाउने मदरल्याण्डले समग्रमा नतिजा पनि उत्कृष्ट ल्याएको छ ।
विज्ञान संकायतर्फ जीवन अधिकारी र कृतिका थापा तथा व्यवस्थापनका राजेश पौडेलले ३.९६ जिपिए ल्याएका हुन्
प्राचार्य बरालका अनुसार विज्ञानमा २ सय २६ र व्यवस्थापन समूहमा १ सय ३० विद्यार्थी गरी ३ सय ५६ विद्यार्थीले परीक्षा दिएकामा ३ जना ३.९६ जिपिए साथ ५२ जनाले ३.६० देखि ४ जिपिए, १ सय ५७ जनाले ३.२० देखि ३.६० जिपिए, १ सय ९ जनाले २.८० देखि ३.२० जिपिए ल्याए । यस्तै, १८ जनाले २.४० देखि २.८० जिपिए ल्याएका छन् ।
गत वर्ष पनि मदरल्याण्डकै सम्राट ढुंगानाले विज्ञान संकायमा गण्डकी प्रदेश टपेका थिए । ३.८८ जिपिए ल्याएका उनी अहिले अमेरिकाको हावर्ड विश्वविद्यालयमा छात्रवृत्तिमा पढिरहेका छन् ।
पोखरा ७, मासबारस्थित मदरल्याण्डले २०७९ सालको एसइईमा पनि कास्की टप गरेको छ । एसइईमा ५० जनाभन्दा बढी परीक्षार्थी सहभागी गराई प्राप्त औषत जिपिए नतिजा मूल्यांकन आधारमा यो विद्यालयले औषतमा सर्वाधिक जिपिए ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले जनाएको छ । यहाँका २ जना विद्यार्थी जोन राना र सुदेश आचार्यले एसइईमा सर्वाधिक जिपिए ४ ल्याएका थिए । साथै शिक्षा मन्त्रालयले २०७५ सालमा मदरल्याण्डलाई मुलुकमै संस्थागततर्फ सर्वोत्कृष्ट घोषित गर्दै पुरस्कृतसमेत गरेको थियो । विद्यालयका डाइरेक्टर डा. त्रिभुवन शर्मा विद्यार्थीलाई गुणस्तरीय नतिजा पस्किन विद्यालय सधैं दत्तचित्त रहेको बताउँछन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ मा देशभर करिब ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण छन् । आधा विद्यार्थी ननग्रेडेड (एनजी) अर्थात् अनुत्तीर्ण भए । यद्यपि यो नतिजा गत वर्षभन्दा ३ प्रतिशतले सुधार आएको बोर्डले जनाएको छ।
नियमित र ग्रेडवृद्धि गरी ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थी सहभागी भएकोमा १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड (एनजी) भएका हुन् । बोर्डले गत २६ वैशाखदेखि ५ जेठसम्म देशभरका १ हजार ४ सय ५७ परीक्षा केन्द्रमा सञ्चालन गरेको थियो । बोर्डले ननग्रेड (एनजी) ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ मा ग्रेडवृद्धि परीक्षा लिने जनाएको छ।