
काठमाडौँ । निर्यात व्यवसायी महासंघ नेपालले कटन र ऊनको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ ।
सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराउँदै निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाइएको कर खारेज गर्न माग गरेको हो । व्यवसायीहरुले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ ।
महासंघका अध्यक्ष शेकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत कर घटाउनुपर्ने बताए । उनले सरकारले कच्चा पदार्थमा कर बढाउनु भनेको आयातलाई प्रोत्साहन गर्नु रहेको बताए । सरकारले विगतमा निर्यातजन्य उद्योगमा ५० प्रतिशतसम्म आयकरमा छुट दिएपश्चात १२ प्रतिशत कर तिर्नुपर्नेमा आगामी आर्थिक वर्षदेखि कर वृद्धि हुँदा २० प्रतिशत पुगेको बताए । उनले सरकारले विद्यमान करको व्यवस्थालाई कायम राख्न अर्थमन्त्रीसँग माग गरिएको बताए ।
उनले सरकारले निर्यातजन्य व्यवसायलाई दिँदै आएका नगत अनुदान पर्याप्त नभएको बताए । उनले सरकारले सबै क्षेत्रलाई उत्पादन अनुसार वितरण गर्नुपर्ने माग गरिएको पनि बताए ।