
कपिलवस्तु — कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका–७ मर्यादपुर सिमानाको पश्चिमपट्टि रहेको बगैंचाबाट २१८ बोरा भारतीय युरिया मल बेवारिसे अवस्थामा फेला परेको छ ।
विशेष सूचनाका आधारमा सुठौली भन्सार कार्यालय र सशस्त्र प्रहरी बल बीओपी डंगरीको संयुक्त टोलीले उक्त मल बरामद गरेको हो। भन्सार कार्यालयका प्रमुख किरण बिष्टका अनुसार बगैंचामा लुकाएर राखिएको अवस्थामा युरिया मल भेटिएको थियो।
बरामद गरिएको मललाई भन्सार कार्यालयमा ल्याइएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।



