
कपिलवस्तु – कपिलवस्तुको हुलाकी राजमार्गमा दुर्घटनाको जोखिम बढ्दै जाँदा स्थानीय र यात्रीहरूको सुरक्षामा चुनौती उत्पन्न भएको छ। बुटहनिया, राजपुर, गैडहवा, बरगदा लगायतका गाउँका महिलाहरू डिभाइडरमा गोबरको गोइठा सुकाउने कार्यमा व्यस्त देखिन्छन्। यो मार्गमा साना र ठूला सवारीसाधनहरूको व्यस्त आवागमनले भरिएको हुन्छ । डिभाइडरमा बारम्बार मानिसहरूको आवतजावतले दुर्घटनाको सम्भावना उच्च बनाएको छ।
तर, स्थानीय प्रशासन र ट्राफिक प्रहरीले यस समस्यामा ध्यान नदिएको स्पष्ट देखिन्छ। सडक सुरक्षा सुनिश्चित गर्नुपर्ने ट्राफिक प्रहरी अधिकांश समय सवारी साधन चेकिङमा सीमित रहँदा जनचेतनाको अभावले स्थिति झन् गम्भीर बनेको छ। डिभाइडरको गलत प्रयोगले मात्र होइन, यात्रुहरूले पनि ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम बढिरहेको छ।
स्थानीय प्रशासनले डिभाइडरमा गोबर सुकाउने जस्ता गतिविधि रोक्न प्रभावकारी कदम चालेर डिभाइडरको उचित प्रयोग सुनिश्चित गर्ने आवश्यक देखिन्छ ।।
यस्तै, ट्राफिक प्रहरीले चेकिङको सट्टा सडक सुरक्षामा बढी ध्यान दिँदै स्थानीय बासिन्दा र यात्रुहरूलाई सचेत बनाउन सक्रियता देखाउनु आवश्यक छ।