कपिलवस्तुमा आत्मनिर्भर अवधारणा सिकाई कार्यक्रम सम्पन्न

शत्रुहन खरबिन्द ,पुष ११।
– कपिलवस्तुको तौलिहवामा आत्मनिर्भर अवधारणा सिकाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। दलित सामाजिक विकास केन्द्र र Kinder Not Hilfe द्वारा संचालित महिला सशक्तिकरण तथा बाल अधिकार संरक्षण परियोजनाले होटल तिलौराकोटको सभाहलमा कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन गर्दै दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक राम शरना रैदासले स्वागत मन्तव्य राखे। उनले आत्मनिर्भरता महिलाको आर्थिक र सामाजिक सशक्तिकरणका लागि महत्वपूर्ण हुने बताए। कार्यक्रम अधिकृत विन्दावासिनी हरिजनले आत्मनिर्भर पद्धति सम्बन्धी प्रस्तुतीकरण गरिन् भने वरिष्ट कार्यक्रम अधिकृत गोविन्द धवलले परियोजनाको उपलब्धिहरू सार्वजनिक गरे।
कार्यक्रममा आत्मनिर्भर समूह र महिला सञ्जालहरूको ग्यालरी प्रदर्शन गरिएको थियो। सचेतनामूलक गीत, नाटक, शैक्षिक भिडियो प्रदर्शनी र सफलताको कथाहरू प्रस्तुत गरिएको थियो।
१४ जना नमूना जोडीलाई सम्मान गरियो भने आत्मनिर्भर महिला समूहका वक्तृत्वकला प्रतियोगी र किशोरहरूको खाना बनाउने प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरियो।
अतिथिहरूको प्रतिबद्धता
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले महिलाहरूलाई पुरुषसरह अधिकार दिलाउन शिक्षा र आत्मनिर्भरतालाई प्रमुख अस्त्रका रूपमा लिनुपर्ने बताए। उनले दलित सामाजिक विकास केन्द्रले महिलाको हक, अधिकार र सशक्तिकरणमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे।
विशिष्ट अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक बाबुराम आचार्यले आत्मनिर्भर महिलाहरूले समाजमा उदाहरणीय भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे। यशोधरा गाउँपालिका उपाध्यक्ष गुन्ज देवी मौर्यले महिलाका लागि सिपमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाइन्।
संस्थागत सहकार्य र सहभागिता
कार्यक्रममा यशोधरा गाउँपालिकाका वडाध्यक्षहरू, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरू, महिला अधिकारकर्मी, शिक्षक, सामाजिक अभियन्ता लगायतको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रम दलित सामाजिक विकास केन्द्रका अध्यक्ष सुरजमति पासीको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रमको सहजीकरण धन कुमारी चौधरीले गरेकी थिइन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *