कपिलवस्तु ,२७ कार्तिक ।
कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर २ मा पशुलाई अमानवीय ढंगले यातना दिँदै लैजाने क्रममा ४ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना मिति २०८१ साल, कार्तिक २७ गते राति २ बजेर २५ मिनेटतिरको हो, जब पूर्व-पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले बा.प्र.०३-००१ ख १९९२ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा ट्रकमा २४ वटा गोरुलाई पृष्ठभागमा क्रूरतापूर्वक बाँधेर झुण्ड्याइएको, नाक डोरीले छेडिएको, र दुई गोरु घाइते अवस्थामा भेटिए। ट्रकको छत पूरै त्रिपालले ढाकिएकोले गोरुहरूको सासप्रश्वासमा समेत बाधा पुगेको देखियो। गोरुहरूलाई सुरक्षित स्थलमा लगेर राखिएको छ। ट्रकका चालक हेमु श्रेष्ठ (मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नम्बर ३, मानगण चोक निवासी), रमेश श्रेष्ठ (वर्ष २७), इरसाद आलम (सुनसरी, कुसाहा नगरपालिका वडा नम्बर १३ नहर चोक निवासी, वर्ष ५५), र समिम आलम (वर्ष २७) लाई जजुरी पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको हो। घटना सम्बन्धमा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।