कपिलवस्तुमा छठ पर्व मनाउनेको संख्यामा वृद्धि, मधेसीसँगै पहाडी समुदायमा पनि उत्साह ।

कमलेशचन्द्र गुप्त ,२२कार्तिक ।
कपिलवस्तुमा छठ पर्व मनाउनेहरूको संख्या हरेक वर्ष तीव्र रूपमा बढ्दै गएको छ। पहिले नेपालमा यो पर्व विशेष गरी पूर्वी र मधेश क्षेत्रका समुदायमा मात्र मनाउने गरिन्थ्यो। तर हालका वर्षहरूमा मधेसी समुदायसँगै पहाडी समुदायमा पनि छठ पर्वप्रति आस्था र विश्वास बढ्दै गएको देखिन्छ।
छठ पर्व मनाउन व्रतालुहरू नजिकको जलाशय, पोखरी, तथा नदी किनारमा भेला भएर सूर्य देवतालाई अर्घ्य चढाउँछन्। कपिलवस्तुको विभिन्न ठाउँहरूमा श्रद्धालुहरूले सूर्यको उपासना गर्दै आफ्ना परिवारको सुख-शान्ति, स्वास्थ्य, तथा समृद्धिको कामना गर्छन्। यस पर्वका अवसरमा कपिलवस्तुका प्रमुख जलाशयहरू र घाटहरूमा विशेष तयारी गरिन्छ, र घाटहरूमा श्रद्धालुहरूको भिड देख्न पाइन्छ।


कपिलवस्तुको कृष्णनगरको सेमेरा र बहादुरगन्ज पोखरीको घाटलगायत अन्य घाटहरूमा पनि छठ पर्वको अवसरमा श्रद्धालुहरूले सूर्य भगवानलाई अर्घ्य दिएका छन्। कृष्णनगर सेमरा र बहादुरगन्जमा भक्तहरूको उल्लेख्य भीड थियो, जसले श्रद्धा र आस्थाका साथ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। सेमेरामा परम्परागत गीतहरू र धार्मिक भाकाहरू गुञ्जिरहेका थिए भने बहादुरगन्ज पोखरीको किनारमा बत्ती बालेर रङ्गीन झिलिमिलीको व्यवस्था गरिएको थियो। भक्तजनहरूले जलाशयको किनारमा पूजा सामग्रीसहित सूर्यको उपासना गरेका थिए। सूर्य उपासना र जलको महत्वलाई उजागर गर्ने यो पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतामा पनि टेवा पुर्‍याएको छ। सहभागीहरूको उत्साहले यी क्षेत्रहरूलाई चाडपर्वको रौनकले भरिएको बनायो। स्थानीयहरूका अनुसार, यस्तो धार्मिक कार्यले सामुदायिक भावना अझ प्रगाढ बनाउँछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top