कपिलवस्तुमा जसपाको अधिवेशन, सुशासन र सशक्त संघीयताको पक्षमा प्रतिबद्धता

कपिलवस्तुमा जसपाको अधिवेशन, सुशासन र सशक्त संघीयताको पक्षमा प्रतिबद्धता

शत्रुहन खरबिन्द , जेठ २३।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कपिलवस्तुमा आयोजित जिल्ला कार्यसमितिको एकताको प्रथम अधिवेशनको उद्घाटन गर्दै नेपालको वर्तमान संविधान २०७२ त्रुटिपूर्ण रहेको भन्दै त्यसको पुनर्लेखन आवश्यक रहेको बताएका छन्।
उद्घाटन समारोहको प्रारम्भ मधेश आन्दोलन लगायतका ज्ञात–अज्ञात शहीदहरूको सम्झनामा दीप प्रज्वलन र तस्बिरमा माल्यार्पण गर्दै गरिएको थियो। समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानमा उल्लेख गरिएजस्तो संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार कार्यान्वयन नभएको गुनासो गरे।
“संविधानमा संघीयता, लोकतन्त्र र गणतन्त्र भनिए पनि व्यवहारमा त्यसप्रति ईमानदार प्रतिबद्धता देखिएको छैन,” अध्यक्ष यादवले भने, “यदि संविधान कार्यान्वयन गरिएन भने लोकतन्त्र बलियो होइन, कमजोर हुन्छ। त्यसैले मूल मर्मअनुसार पुनर्लेखन आवश्यक छ।”
यादवले नेपाली कांग्रेस र कम्युनिस्ट दलहरू संविधान र संघीयताको कार्यान्वयनमा गम्भीर नदेखिएको आरोप पनि लगाए। उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास कायम राख्न बलियो र उत्तरदायी सरकारको खाँचो औंल्याए।

उद्घाटन कार्यक्रममा जसपा नेपालका केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, प्रदेशसभा सदस्य अम्बिका काफ्ले, केन्द्रीय सदस्यहरू अब्दुल रसिद, सुदिप पौडेल, साधिका यादव तथा प्रदेश अध्यक्ष रामअवतार यादव लगायतको उपस्थिति रहेको थियो।
प्रदेशसभा सदस्य अम्बिका काफ्लेले जसपाले लुम्बिनी प्रदेशमा संगठन विस्तारलाई प्राथमिकता दिँदै प्रभावकारी अभियान अघि बढाएको जानकारी दिइन्। उनले कपिलवस्तु जिल्ला कार्यसमितिको अधिवेशन पार्टीमा एकता, समन्वय र नेतृत्व विकासको दृष्टिले महत्त्वपूर्ण हुने बताइन्।
हाल अधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास भइरहेको छ भने सहमति र समन्वयको संस्कृति विकास गर्दै अगाडि बढ्ने प्रदेश नेतृत्वको भनाइ छ।

जसपा नेपालले देशको समृद्धि, समानता र न्यायपूर्ण समाज निर्माणका लागि सशक्त संघीयता, असल शासन र भ्रष्टाचारविरुद्धको अभियानमा आफू सदैव प्रतिवद्ध रहेको जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *