
कपिलवस्तु जिल्लाको कृष्णनगरमा नागरिकता वितरणमा लापरबाही भएको तथ्य बाहिर आएको छ ।
कृष्णनगर नगरपालिका–५ त्रिलोकपुरका बुधराम अहिरलाई २०४५ साल जेठ २६ गते जारी गरिएको नागरिकता (नम्बर ५०७) मा वास्तविक जन्ममिति २०१४ साल भए पनि २०७७ साल पुस ६ गते प्रतिलिपी निकाल्दा कर्मचारीको लापरबाहीका कारण २०१९ साल उल्लेख गरिएको छ । यस त्रुटीका कारण उनले बैंक, बिमा, जग्गा–जमिन सामाजिक भत्ता लगायतका सरकारी कामकाजमा निरन्तर समस्या भोग्दै आएका छन् ।
यस्तै, सोही क्षेत्र माडा बस्ने जगतराम गडारियालाई बंशजको नागरिकताको प्रतिलिपी दिदा जिल्ला प्रशासनले त्रुटीवश जन्मसिद्ध नागरिकताको प्रतिलिपी दिएको खुलेको छ ।
स्थानीयवासीहरूको भनाइअनुसार अशिक्षित र पिछडिएका वर्गका व्यक्तिहरूमा यस्ता प्रशासनिक गल्ती दोहोरिँदा उनीहरू जीवनभरै हैरानी खेप्ने अवस्थामा पुगेका छन् ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले आवश्यक प्रक्रिया पूरा गरेर सच्याउन सकिने भए पनि ढिलासुस्ती र उदासीनताका कारण प्रभावित नागरिकहरू थप पीडित भइरहेका छन् ।







