
कपिलवस्तु, चैत १६ — बैंकिङ कसुर मुद्दामा संलग्न रहेको आरोपमा एक बैंक कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
प्रहरीका अनुसार ती कर्मचारीले विभिन्न मिति र समयमा बैंकिङ प्रणालीभित्र अनाधिकृत रूपमा प्रवेश गरी केही ग्राहकहरूको मोबाइल नम्बर परिवर्तन गरेका थिए। त्यसपछि आफ्नै प्रयोगको मोबाइल नम्बर खातामा राखी मोबाइल बैंकिङ र कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्दै आएको खुलासा भएको छ।
यसरी ग्राहकहरूको खाताबाट करिब १ करोड ९६ लाख रुपैयाँभन्दा बढी रकम अनाधिकृत रूपमा झिकिएको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका–१ पकडी क्षेत्रबाट २८ वर्षीय शिशिर कार्कीलाई पक्राउ गरेको हो।
पक्राउ परेका कार्कीमाथि बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। जिल्ला अदालत कपिलवस्तुबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



