
तुलसीराम यादव, ३० माघ
सन्त शिरोमणी गुरु रविदासको ६४८औं जन्मजयन्ती कपिलवस्तुको तौलिहवामा भव्य रूपमा मनाइएको छ। कपिलवस्तु बुद्ध बिहारको आयोजनामा तथा विभिन्न सामाजिक अभियन्ताहरूको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल र भारतका सामाजिक आन्दोलनमा सक्रिय महिला तथा पुरुषहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
तौलिहवाको होटल तिलौराकोटमा आयोजित सो कार्यक्रममा कपिलवस्तु बुद्ध बिहार संघका अध्यक्ष राजकुमार यादवको अध्यक्षता रहेको थियो भने लुम्बिनी प्रदेश सांसद तथा पूर्व पर्यटन मन्त्री जानकी प्रसाद यादव प्रमुख अतिथि रहेका थिए। त्यस्तै, कपिलवस्तु नगरपालिका प्रमुख सुदीप पौडेल विशेष अतिथि रहनुभएको थियो भने अन्य अतिथिहरूमा कपिलवस्तु अस्पताल विकास समिति तौलिहवाका अध्यक्ष शिवलाल यादव लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू सहभागी थिए।
सन्त रविदास सन् १४५०–१५२० को आसपास मध्यकालीन भारतका ख्यातिप्राप्त भक्ति आन्दोलनका सन्त, समाज सुधारक, कवि, तथा आध्यात्मिक गुरु हुनुहुन्थ्यो। उहाँलाई विशेषगरी भक्तिकालीन कवि र दलित समाजका आवाजका रूपमा स्मरण गरिन्छ। जातीय विभेद र सामाजिक अन्यायविरुद्ध उहाँले उठाउनुभएको आवाजले समाजमा ठूलो प्रभाव पारेको थियो।
कार्यक्रममा वक्ताहरूले सन्त रविदासको जीवन यात्रा तथा उहाँले दिनुभएको समता, प्रेम, करुणा र सार्वभौमिक भाइचाराको सन्देशबारे प्रकाश पार्दै सामाजिक विभेद अन्त्य गर्न उहाँका शिक्षाहरूलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो। सामाजिक अभियन्ता रामशरण रैदासले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।
सो कार्यक्रममा ४ सय भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो।