
कपिलवस्तु चैत २५
स्वास्थ्य बीमा दिवसको अवसरमा कपिलवस्तु नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा स्वास्थ्य बीमाका चुनौती, अवसर र सेवा प्रवाहका विषयमा छलफल गरिएको छ। जिल्ला संयोजक बिशिष्ट तिवारीको अध्यक्षता तथा प्रमुख अतिथि बिनय कुमार श्रीवास्तवको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा बीमा दर्ता सहयोगी, दर्ता अधिकारी तथा स्वास्थ्य सेवा प्रदायक संस्थाका प्रतिनिधिहरू सहभागी रहेका थिए। कार्यक्रममा सबै नागरिकसम्म बीमा पहुँच विस्तार, सेवा गुणस्तर सुधार र जनचेतना अभिवृद्धि मुख्य चुनौतीका रूपमा औंल्याइयो भने स्वास्थ्य बीमाले नागरिकलाई सहज उपचार सेवा, आर्थिक सुरक्षा र सुदृढ स्वास्थ्य प्रणाली निर्माणमा महत्वपूर्ण अवसर प्रदान गर्ने धारणा व्यक्त गरियो। साथै, बीमित नागरिकलाई उपचार, जाँच तथा औषधि सेवा सहुलियत दरमा उपलब्ध गराउने सेवाबारे जानकारी दिँदै कार्यक्रमलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।



