शत्रुहन खरबिन्द , चेतरादेई
भदौ २८
सनशाईन सामाजिक विकास संस्थाले आफ्नो २६औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ, जहाँ ३३ जनाले रक्तदान गरे। २०५५ साल भाद्र ३० गते स्थापना भएको यो संस्था विगत २६ वर्षदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको छ।
संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले रक्त अभावका कारण कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए। कार्यक्रमको प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले संस्थाले ८ वर्षदेखि रक्तदान कार्यक्रम आयोजना गर्दै परोपकारी कार्यमा योगदान पुर्याएको प्रशंसा गरे।
कपिलवस्तु अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादवले पनि संस्थाले रक्तदान कार्यक्रममार्फत अस्पतालमा बिरामीहरूलाई रक्त अभाव हुन नदिन मद्दत गरेको बताए। कार्यक्रम सनशाइन सामाजिक विकास संस्थाको आयोजनामा र बुद्धभूमि नगरपालिकाको सहयोगमा सम्पन्न भयो।