कपिलवस्तुमा स्वास्थ्य बीमा बोर्डको दर्ता सहयोगीको क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न

कपिलवस्तुमा स्वास्थ्य बीमा बोर्डको दर्ता सहयोगीको क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न


चन्द्रौटा ।
स्वास्थ्य बीमा बोर्डको आयोजनामा दर्ता सहयोगीहरूको क्षमता अभिवृद्धिका लागि चन्द्रौटास्थित लुम्बिनी ग्रीन रिसोर्टमा तीन चरणमा सम्पन्न दुई दिने कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ।
गोष्ठीको पहिलो चरणमा बिजयनगर गाउँपालिका, महाराजगञ्ज नगरपालिका र शिवराज नगरपालिकाका दर्ता सहयोगीहरू सहभागी थिए। दोस्रो चरणमा बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकाका दर्ता सहयोगीहरूले सहभागिता जनाए भने तेस्रो तथा अन्तिम चरणमा कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका र यसोधरा गाउँपालिकाका बीमा दर्ता सहयोगीहरूको सहभागिता रहेको थियो।
कार्यशालामा सहभागीहरूले स्वास्थ्य बीमासम्बन्धी कार्य प्रणाली, सेवाप्रवाहमा देखा पर्ने समस्या र समाधानका उपाय, स्थानीय तहमा बीमा सेवा विस्तारका उपाय, जनचेतना अभिवृद्धि, बीमितको दर्ता तथा नवीकरण प्रक्रिया, अपाङ्गता परिचयपत्र सहितको बीमासम्बन्धी व्यवस्था, रेफरल प्रणाली लगायतका विषयमा विस्तृत जानकारी प्राप्त गरेका थिए। प्रशिक्षकहरूले व्यवहारिक अभ्यासमार्फत सहभागिहरूलाई सेवा प्रवाह अझ प्रभावकारी बनाउने तरिका सिकाएका थिए।


गोष्ठीको विशेष पक्ष भनेको हालसालै परिवर्तन गरिएको नीति र कार्यविधिको बारेमा विस्तृत जानकारी दिनु रह्यो। सहभागीहरूलाई नयाँ दर्ता प्रणाली, बीमाशुल्क भुक्तानीमा गरिएका सुधार, नवीकरणको म्याद, डिजिटल प्रणालीको प्रयोग, सेवामा पहुँच विस्तार गर्ने नयाँ अवधारणा र अभिलेखीकरण प्रणाली लगायतका विषयमा गहन जानकारी दिइयो। यस्ता परिवर्तनहरूलाई कार्यान्वयनमा लैजाँदा देखिन सक्ने व्यवहारिक चुनौती र समाधानको उपायसमेत कार्यशालामा छलफल गरिएको थियो।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन दर्ता सहयोगीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको भन्दै, उनीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम आवश्यक रहेको स्वास्थ्य बीमा बोर्डका अधिकारीहरूले बताएका थिए। सहभागीहरूले पनि यस्ता तालिमले कार्यप्रति स्पष्टता र दक्षता बढाउने हुँदा यस्ता कार्यक्रम निरन्तर हुनु पर्नेमा जोड दिएका थिए।
तीन चरणमा सम्पन्न कार्यशालाबाट करिब ८० भन्दा बढी दर्ता सहयोगी लाभान्वित भएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *