कपिलवस्तु सीमामा सशस्त्रको ज्यादती, तीन नागरिक लाठिचार्जमा घाइते

कपिलवस्तु सीमामा सशस्त्रको ज्यादती, तीन नागरिक लाठिचार्जमा घाइते

कपिलवस्तु, साउन ६।
भारतसँग जोडिएको कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–४ चाकलचौडामा सशस्त्र प्रहरीले गरेको लाठीचार्जमा तीन जना घाइते भएका छन् ।
स्थानीयवासीका अनुसार घटना चाकलचौडा बजारमा सुरु भएको हो, जहाँ १५ वर्षीय एक बालकले किराना सामानको पैसा नदिएको आरोप लगाउँदै सशस्त्र प्रहरी टोलीले कुटपिट गरेको बताइन्छ । उक्त विवाद बढ्दै गएपछि गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर गुरुङ नेतृत्वको टोलीले लाठीचार्ज गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
लाठीचार्जमा परेर पिपराका ७५ वर्षीय अब्दुल कयुम, ५५ वर्षीय चिरकुट लोध र बुलाडिहवाका १६ वर्षीय साहिल मुसलमान घाइते भएका छन् । उनीहरूलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको छ । घाइते साहिलको हातको नसा काटिएको र अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।
स्थानीयवासीले सशस्त्र प्रहरीको कदमलाई “अनावश्यक ज्यादती” भन्दै विरोध गरेका छन् । मायादेवी–८ का अरबिन्द प्रसाद तिवारीले भने– “बिना सोधपुछ, बृद्धदेखि महिलासम्मलाई समेत कुटपिट गरियो । मलाई समेत लाठी प्रहार गरिएको छ,” दाबी गरे ।
सीमावासीले प्रहरी र सशस्त्र दुवै निकायले दैनिक जीवनमा अनावश्यक चेकजाँच र सानो रकम असुल्ने कार्य गर्ने गरेको आरोप पनि लगाएका छन् ।
यद्यपि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्र कुमार सिंहले भने सडकमा राखिएको मोटरसाइकल हटाउने विषयमा विवाद चर्कँदा भिड अनियन्त्रित भएको र त्यसपछि सशस्त्रले बल प्रयोग गर्नुपरेको स्पष्ट पारे । उनका अनुसार घाइतेको उपचार भइरहेको छ र घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *