काठमाडौं । सरकारले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०\८१ को बजेटबारे संसदमा छलफल अझै सकिएको छैन ।
विपक्षी दलहरुका बाबजुद सत्ता गठबन्धनकै दलहरुले नै बजेट पास हुनै नदिने बताइरहेका छन् । खासगरी सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)का सांसदहरु बजेट पारित हुनै नदिने रणनीतिमा लागेका छन् ।
यसले एकातिर बजेट पारित हुनै नदिने बताएको प्रमुख विपक्षी दल एमालेलाई राहत मिलेको छ भने यसैका कारण एकीकृत समाजवादीमा पहिरो जाने सम्भावना पनि बढेको छ ।
नेकपा (एस)का सांसदहरुले आफ्नै सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०\८१ को बजेट पारित हुनै नदिने बताइरहेका छन् ।
एकीकृत समाजवादीका सांसदहरुले बजेटको विरोध गरिरहँदा जेठ २९ गते अध्यक्ष माधव नेपालले पनि बजेट संशोधन नगरिए सरकार नै ढल्न सक्नेसमेत अभिब्यक्ति दिएका थिए ।
लगत्तै भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसहित नेकपा एसका सांसदहरुलाई बालुवाटार बोलाएर छलफल गरे । प्रधानमन्त्री प्रचण्डले बजेटको विरोध नगर्न उनीहरुलाई आग्रह गरे ।
प्रचण्डसँगको भेटपछि भने अध्यक्ष नेपालको बोली फेरियो । उनी एक कदम अगाडि बढेर सत्ता गठबन्धन मात्र होइन, पुनः तत्कालिन नेकपालाई ब्युँताउनुपर्ने आशय ब्यक्त गरेका थिए ।
यहि पेरिफेरिमा गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहित नेकपा एस, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलहरु समाजवादी मोर्चा घोषणाको तयारीमा लागे ।
मोर्चा घोषणा गर्न सबै भन्दा हतार माधव नेपाललाई देखिन्थ्यो । त्यसैले एकीकृत समाजवादीकै नेताहरुले मोर्चा घोषणा गर्नेबारे सार्वजनिक गरेका थिए ।
मोर्चामा संसदीय ब्यवस्थाको विरोध गर्दै आएका नेत्रविक्रम चन्द विप्लव पनि मिसिए । तर जसपा अध्यक्ष उपेन्द्र यादव तघारो बनिदिँदा डा. बाबुराम भट्टराई भने मोर्चामा समेटिन सकेनन् ।
आगामी दिन पार्टी एकता नै गर्ने अभिष्टका साथ चार दलीय मोर्चा नै घोषणा भइसक्दा पनि नेकपा एसका सांसदहरु बजेट पारित हुनै नदिने योजनामा छन् ।
एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका सांसद पाण्डेले अध्यक्षले बजेटका पक्षमा भोट हाले पनि आफूहरुले नहाल्ने बताइरहेका छन् ।
प्रधानमन्त्री र अर्थमन्त्रीबाट असन्तुष्टि सम्बोधन गर्ने प्रतिवद्धता आएको भन्दै उपमहासचिवसमेत रहेका पार्टीका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले असन्तुष्टिलाई मत्थर पार्ने प्रयास गरिरहेका छन् ।
प्रधानमन्त्री तथा तथा मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट छुट्याएको भन्दै उनीहरुले असन्तुष्टि पोखिरहेका छन् । पार्टीभित्रका सांसदहरुबाटै विद्रोहको संकेत देखापरेपछि मोर्चा घोषणा गर्न माधव नेपाल हतारिएको स्पष्ट देखिएको छ ।